राजनीतिक भेला खुलेआम, विद्यालय सञ्चालनमा मात्रै रोक
धनगढी : कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै विद्यालय सञ्चालन नहुँदा बालबालिकाको सिकाइमा क्षयीकरण हुन थालेको छ। अन्य सबै क्षेत्र सञ्चालन भइसकेको अवस्थामा विद्यालय सञ्चालनमा मात्रै रोक लगाउँदा विद्यार्थीको सिकाइमा क्षयीकरण हुँदै भविष्य नै अन्योलमा पर्न थालेको हो।
अन्य सबै क्षेत्र खोलेर कोरोना संक्रमणको डर देखाएर लामो समयसम्म विद्यालय मात्र बन्द गर्नु गलत भएको सरोकारवालाले बताएका छन्। राजनीतिक दलका सभा, भेला तथा जुलुसमा सयौँ व्यक्ति सहभागी हुँदा जोखिम नहुने तर विद्यालय सञ्चालन गर्दा मात्रै जोखिम हुने कुरा तर्कसंगत नभएको जिकिर गरिएको छ। बन्द विद्यालय र परीक्षा सञ्चालनमा रोक लगाएर सरकारले विद्यार्थीको भविष्यमाथि खेलवाड गरिरहेको आरोप कैलालीका विद्यार्थी नेता चुडामणी भट्टको छ।
‘अरु क्षेत्रभन्दा शिक्षा क्षेत्र अस्तव्यस्त देखिएको छ। सरकार तथा राज्य संयन्त्रले शिक्षा क्षेत्रलाई ठिक ढंगले व्यवस्थापन गरेर भोलिको दक्ष नागरिक निर्माण गर्ने शैक्षिक गतिबिधि सही ढंगले सञ्चालन गर्नुपर्ने थियो,’ उनले भने, ‘शैक्षिक गतिविधि सञ्चालन गरेर उपलब्धिमुलक सिकाइ गर्न सरकार चुकी रहेको छ।’
शिक्षा क्षेत्रका सरोकारवालाले कैलालीसहित देशभर नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र लगायत दलका भेला र बैठक निर्वाध रुपमा भइरहेका तर विद्यालय भने लामो समयसम्म बन्द गर्नु गलत भएको बताएका छन्। अहिले निषेधाज्ञा कायमै छ तर विभिन्न राजनीतिक दलहरुले भने सयौँको संख्यामा कार्यकर्ता भेला गर्दासमेत स्थानीय प्रशासन मौन छ।
पठनपाठनका वैकल्पिक उपाय प्रभावकारी नदेखिएको अभिभावक, विद्यार्थी र शिक्षकहरुले बताउने गरेका छन्। राजनीतिक भेला तथा अन्य सरकारी कार्यालयमा भिडभाड गर्न हुने तर विद्यालयमा सिफ्टअनुसार पनि पढाइ गर्न अनुमति नदिनु तर्कसँगत नभएको एनप्याब्सन कैलालीका अध्यक्ष राजेन्द्र चापागाइँले बताए। ‘विद्यालय मात्रै बन्द गरिएका छन्। मालपोतलगायत सरकारी कार्यालय सञ्चालनमा छन् भने राजनीतिक दलका कार्यक्रम रोकिएका छैनन्। कार्यालय तथा दलका कार्यक्रममा भिडभाड नै छ,’ उनले भने, ‘पूर्वतिर बिराटनगर तथा वीरगञ्जमा विद्यालय खुली सकेका छन्। यता पनि खोल्न दिनुपर्छ।’
सुदूरपश्चिम प्रदेशमा निश्चित मापदण्डको अधिनमा रहेर विद्यालय खोल्ने अनुमति स्थानीय प्रशासन र पालिकाहरुले दिनुपर्ने माग प्याब्सन कैलालीका अध्यक्ष डिल्ली रेग्मीको छ। ‘विद्यालय बाहेक अन्यत्र सबै ठाउँमा भिडभाड नै छ। बालबालिका विद्यालय नआएपनि साँझ विहान क्रिकेट, फुटबल तथा पौडी खेल्न जम्मा भएको देखिएकै छ,’ उनले भने, ‘अनलाइन आउन नसक्नेहरुलाई भएपनि विद्यालयमा बोलाएर सिफ्ट अनुसार पढाउन माग गरेका छौँ।’
कैलाली जिल्ला शिक्षा समन्वय इकाइले भने शिक्षण सिकाइ सहजिकरण निर्देशिका २०७७ अनुसार विद्यालयमा पठनपाठन भइरहेको भएपनि भौतिक उपस्थितिमै पठनपाठनका लागि भने अहिलेसम्म कुनै निर्णय या निर्देशन प्राप्त नभएको शिक्षा समन्वय इकाइ कैलालीका प्रमुख निलकण्ठ सुबेदीले बताए।
विद्यार्थीहरुको समग्र सिकाइ उपलब्धि ह्रास नहेस् भन्ने कुरालाई ध्यानमा राखी उपयुक्त र प्रभावकारी मापदण्डअनुसार भौतिक उपस्थितिमा पठनपाठन गर्ने व्यवस्था मिलाउन सरोकारवाला पक्षले आग्रह गरेका छन्।