२४ दिन जनश्रमदान अनिवार्य
बाजुराको गौमुल गाउँपालिकाले प्रत्येक घरधुरीलाई महीनाको दुई दिन जनश्रमदान गर्न अनिवार्य गरेको छ। ‘देशका लागि दुई दिन’ कार्यक्रमअनुसार प्रत्येक घरधुरीले महीनाको दुई दिन अनिवार्य जनश्रमदान गर्नुपर्ने नियम बनाइएको हो। देश निर्माण र समृद्धिको अभियान आफैँबाट शुरुआत गर्ने उद्देश्यसहित प्रत्येक परिवारलाई उक्त गाउँपालिकाको विकासमा लगानी गर्न देशका लागि दुई दिन कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष हरिबहादुर रोकायाले बताए। उक्त गाउँपालिकामा रहेका दुई हजार बढी परिवारले अबदेखि अनिवार्य रूपमा महीनाको दुई दिन गाउँपालिकाको काम निःशुल्क गर्नुपर्ने भएको छ। गाउँपालिकाका,सङ्घीय तथा प्रदेश सरकारबाट निर्माण हुने योजना र स्थानीय सार्वजनिक सरोकारका कामका लागि दुई दिन अनिवार्य काम गर्नुपर्ने प्रावधान गाउँकार्यपालिकाको २२ औँ बैठकबाट निर्णय गरिएको हो। राज्यको लगानीले मात्र गाउँ र समाजको उन्नति तथा समृद्धिको सपना पूरा नहुने भएकाले शुरुआत स्वरुप कार्यक्रम यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको अध्यक्ष रोकायाले जानकारी दिनुभयो । महीनाको ३० दिन काम गर्दा पनि २८ दिनको ज्याला पाउने र दुई दिन श्रमदान गर्नुपर्ने नीतिमै उल्लेख गरिएको उपाअध्यक्ष सीता थापाले बताए।
रासस