देहरादुन बस सञ्चालनको अनुमति
कञ्चनपुरको महाकाली यातायात समितिका बस छिट्टै भारतको देहरादुनसम्म सञ्चालनमा आउने भएका छन् । यात्रुको सहजताका लागि समितिलाई सरकारबाट बाटो इजाजत प्राप्त भएको महाकाली यातायात समितिका अध्यक्ष डम्बर पन्तले जानकारी दिए । उनले नेपाल–भारतमैत्री बस सेवा अन्तर्गत सेवा सञ्चालन गर्न सम्झौता भएको बताए । सम्झौता अनुसार दैनिक एक महाकाली समितिको र एक उत्तराखण्ड परिवहन निगमका गरी दुई बस सञ्चालनमा आउने बताइएको छ । यहाँबाट ३९२ किलोमिटर दूरीमा रहेको देहरादुन बस सेवा सञ्चालनसँगै यात्रुलाई सहजता थपिने समितिको भनाइ छ । यसअघि समितिकै पहलमा भीमदत्तगर–नयाँ दिल्ली बस सञ्चालन गरिएको थियो । हाल भीमदत्तनगरबाट भारतको राजधानी दिल्ली दैनिक तीन वटा बस सञ्चालनमा रहेको समितिले जनाएको छ । चाडैँ भारतको मधुरासम्म बस सेवा विस्तारका लागि पहल गरिने अध्यक्ष पन्तले बताए । विसं २०३९ मा स्थापना भएको समितिमा हाल ५४२ बस सञ्चालनमा छन् ।