सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा चार सय ७२ परिवारलाई चुलो वितरण, वडाध्यक्ष भन्छन्, ‘मुक्ति मिल्यो’

२०७८ भदौ ११, ०२:४७ रासस

डोटी: डोटीको पूर्वीचौकी गाउँपालिका–२ बगलेकबासीले  चुलोमा खाना पकाउँदा आउने धुवाँबाट मुक्ति पाएका छन्। मानवीय सेवामा अनेकौं प्रयास (साइन नेपाल) नामक गैरसरकारी संस्थाले उक्त वडामा चार सय ७२ परिवारलाई धुवाँरहित फलामे चुलो वितरण गरेपछि धुवाँको समस्या हटेको हो। 

उक्त संस्थाको रु ८५ लाखको आर्थिक सहयोगमा वडाबासीलाई धुवाँरहित चुलो वितरण गरेको थियो। धुवाँले फोक्सो, निमोनिया र आँखाका समस्या समाधान हुने बताइएको छ। ती समस्याबाट जोगिन  र दाउराको खपत समेत कम गर्न चुलो वितरण गरिएको संस्थाका कोषाध्यक्ष मेघराज भट्टले जानकारी दिए।

वडाध्यक्ष योगेन्द्र ठकुल्लाले भने, “धुवाँ आउने चुलोले बालबालिकासहित घरका परिवारलाई निकै सास्ती थियो, अहिले धुवाँरहित चुलो आएपछि वडावासीलाई धुवाँको समस्याबाट मुक्ति मिलेको छ।” जिल्लामा निःशुल्क रुपमा धुवाँरहित चुलो वितरण गर्ने उक्त संस्था पहिलो हो।

नागरिकका स्वास्थ्यमा सुधार हुने तथा समाज स्वच्छ हुनाका साथै वातावरणमा समेत सुधार हुने अपेक्षा लिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले जानकारी दिए। निकट भविष्यमा पालिकाका सबै वडामा चुलो वितरण गर्ने योजना रहेको संस्थाले जनाएको छ । 
 

कमेन्ट लोड गर्नुस