सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको बान्नीगढी गाउँपालिकालाई हिलाम्य सडकले गिज्याउँदै

२०७८ भदौ ११, ०९:०० खबर संवाददाता

एकेन्द्र खत्री, अछाम:  लगातारको वर्षाका कारण अछामका ग्रामीण सडक अवरुद्ध बनेका छन्।

घाम लागेपछि धुलाम्मे हुने अछामका सडक हाल वर्षासँगै हिलाम्य बनेका छन्। जिल्लाका अधिकांश ग्रामीण सडक वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध छन् भने सञ्चालनमा रहेका सडकहरूको दुरावस्था छ। यता बान्नीगढी जयगढ गाउँपालिका कार्यालय अगाडिकै सडक समेत हिलाम्य भएको छ।

गाउँपालिका कार्यालय अगाडिकै मूल सडक हिलाम्य भई स्थानीयलाई आवतजावतमा र सवारी साधन सञ्चालनमा समस्या भइरहँदा गाउँपालिका भने यस विषयमा बेखबर देखिएको छ। कार्यालय अगाडिकै सडकको दुरावस्था हुँदा समेत गाउँपालिकाले बेवास्ता गरेको स्थानीय अगुवा ज्योती साउँदको भनाई छ।

सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनी र सडक मर्मतबारे गाउँपालिका मौन रहनु आम नागरिकका लागि दुर्दशाको विषय बनेको उनले बताइन्। अछामका मुख्य ग्रामीण सडकहरू वर्षायाम सुरु भएसँगै अवरुद्ध हुँदा स्थानीयले टाढा टाढाबाट हिँडेरै यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको छ भने सञ्चालनमा रहेको ग्रामीण सडक समेत हिलाम्मे बन्दा जोखिमपूर्ण यात्रा गर्न सर्वसाधारण बाध्य छन्।

कमेन्ट लोड गर्नुस