सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा डुबान हुन नदिने ६ उपाय

दिनेशखबर वर्णन 

२०७८ भदौ १०, १०:५४ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिकाको बजार क्षेत्रमा पर्ने वडा नम्बर १ देखि ८ सम्म हरेक वर्ष डुबानको समस्या हुने गर्छ।  केही वर्ष अगाडिसम्म रातदिन पानी पर्दा पनि डुबान नहुने बस्ती अहिले क्षणभरको वर्षाले डुबाउँछ। 
उपमहानगरका सबैजसो सडक जलमग्न हुन्छन्। दशक अगाडिसम्म धनगढीको सिमित ठाउँमा मात्रै डुबानको समस्या थियो। तर अहिले आएर नगरको बजार क्षेत्र पुरै जलमग्न हुने गरेको छ।  

धनगढीमा डुबान हुन नदिन यी ५ उपाय अपनाउन सकिन्छ:
१. खोलानाला, नहर तथा कुलो अतिक्रमण हटाउने
धनगढी उपमहानगरमा डुबानको समस्या समाधान गर्न खोलानाला, नहर तथा कुलो अतिक्रमण हटाउनुपर्ने देखिन्छ। धनगढी भएर बग्ने कैलाली खोला, सकुटी नाला, भंगी नाला र शिवनगर नाला अतिक्रमण गरेर सयौं घर निर्माण गरिएका छन्। खोला तथा नालाको बहाव क्षेत्र साँघुरो हुने गरि निर्माण गरिएका घर तथा पर्खालले धनगढी भएर बग्ने पानी घरभित्र पस्न थालेको हो। खोलानाला मात्रै होइन नगरका विभिन्न टोल तथा बस्ती भएर पानी बग्ने पुराना नहर र कुलोमा पनि घर र सडक निर्माण गरिएको छ। तसर्थ बर्सातको पानी बस्तीमा नथुनियोस् भनेर अतिक्रमित खोलानाला, नहर तथा कुलो खाली गर्नु पहिलो शर्त हो।

२. सार्वजनिक तालको अतिक्रमण हटाउने
धनगढी उपमहानगरपालिकामा सय बढी सार्वजनिक ताल थिए। तीमध्ये अधिकांशको अहिले अस्तित्व नै मेटिएको छ। वडा नम्बर १ को झगडा ताल, २ नम्बरको तिल्के ताल, ३ नम्बर वडाको नेतुवा, ६ नम्बर वडामा पर्ने बडुवा र दिदीबहिनी ताल, वडा नम्बर ७ का सडुवा, आटा गढैया, लम्बा तथा मनैया गढैया ताल अतिक्रमणमा परेका छन्। विगतमा बर्सातको पानी बस्तीमा रहेका तालहरुमा जम्मा हुने गरेको कारण नगरमा डुबानको समस्या थिएन। तर अहिले आएर ती ताल पुरेर बिक्री गरिएको छ। जसका कारण बर्सातको पानीले धनगढी क्षणभरमै डुबानमा पर्दै आएको स्थानीयले बताउने गरेका छन्। 

३. नगर विकासले बाडेका लालपुर्जा बदर गर्नुपर्ने 
धनगढीमा डुबान हुनुको मुख्य दोषी धनगढी नगर विकास समिति हो। धनगढी नगर विकास समितिले नगरको ९ सय ३१ विघा सार्वजनिक जग्गा बिक्री गरेको छ। २०४९ देखि २०७२ सम्म नगर विकासले झण्डै २ सय बिघा खोलानाला तथा ताल क्षेत्रको जग्गा व्यक्तिका नाममा दर्ता गरेको छ। ती लालपुर्जा बदर गर्न सके पनि नगर क्षेत्रमा डुबान नहुने अनुमान नगरवासीको छ।

४. नक्सा पास गर्दा कडाइ गर्नुपर्ने   
नगर विकासले पटकपटक करिब २ सय बिघा खोलानाला किनार तथा ताल क्षेत्रको जग्गाको लालपुर्जा दिएको कारण बर्सातको पानी जम्मा हुने तथा बग्ने क्षेत्रमा घर लगायतका भौतिक संरचना बनेका छन्। ती घर बनाउन धनगढी उपमहानगरपालिकाले नक्सा पास गरेको छ। यसरी नगरमा डुबान बढाउने मतियार उपमहानगर पनि बनेको नगरवासीको आरोप छ। नगर विकासले जथाभावी वितरण गरेको लालपुर्जाकै आधारमा उपमहानगरपालिकाले घरको नक्सा पास नगरे तथा पास गरिएका नक्सा खारेज गररे नगरमा खोला, नहर र कुलो तथा कल्भर्टमा बनेका संरचना हटाए डुबानको समस्या समाधान हुन्छ भन्ने विश्वास गरिएको छ। 

५. व्यवस्थित शहरीकरण
धनगढी उपमहानगरपालिका तथा नगर विकास समितिले नगरमा बस्ती विकास गर्ने योजना ल्याउन नसक्दा जथाभावी जग्गाको खण्डीकरण हुने गरेको छ। जग्गा कारोबारीले खुला क्षेत्र नछोडि र मापदण्ड विपरीत सडक कायम नगरेर जग्गा प्लटिङ गर्नाले पनि धनगढी डुबानमा पर्न थालेको हो। तसर्थ धनगढीमा भूउपयोगको नीति कार्यान्वयन हुनुपर्ने तथा व्यवस्थित शहरीकरण भए नगरमा डुबानको समस्या हल हुने अनुमान गरिएको छ।

६. योजनावद्ध सडक तथा नाली निर्माण
धनगढी उपमहानगरपालिकामा निर्माण गरिएका सडक साँघुरा छन्। केही सडक त नाली नै नभएका पनि छन्। नाली निर्माण नगरी बनाइएका सडक र पानी नबग्ने गरी बनाइएका नालीका कारण पनि बर्सातको पानी बस्तीमा जम्ने गरेको छ। धनगढीमा विभिन्न बस्तीमा बनाइएका सडकमा कल्भर्ट निर्माण नगरिँदा पनि पानी बस्तीमा नै थुनिने गरेको छ। तसर्थ उपमहानगरले सडक तथा नाली निर्माण गर्दा निकै चनाखो हुनसके डुबानको समस्या निराकरण गर्न सकिन्छ। 

धनगढी डुबान पर्नुका कारणको पहिचान गर्न र त्यही अनुरुप डुबान रोक्न उपमहानगरपालिकाले ठोस योजना ल्याउनुपर्ने नगरवासीको माग छ। धनगढीमा हुने डुबानको समस्या समाधान गर्न नगर विकासले बाँडेका खोलानाला तथा तालको लालपुर्जा खारेज गर्नुपर्ने तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचना भत्काउनुपर्ने माग पनि उठ्दै आएको छ। धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले पनि असोजदेखि खोलानालको जग्गामा बाडिएका लालपुर्जा खारेज गर्ने र अतिक्रमित क्षेत्रमा डोजर लगाउने बताउँदै आएका छन्।


 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस