सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा माइतीघर भएकी धर्माको आफन्तले शव बुझे

२०७८ भदौ ५, ०५:११ खबर संवाददाता

धनगढीः रुकुम–पश्चिमको आठबिसकोट नगरपालिकाकी एक महिलाको उपचारको लागि नेपालगञ्ज आउँदै गर्दा बसमै मृत्यु भएको छ। रुकुम –पश्चिमको ९ बटला (सुन्दरपानी)की २८ वर्षीया धर्माकुमारी बटालाको बसमै मृत्यु भएको हो। बिहीबार  साँझ ना ३ ख ३७८८ नम्बरको नाइट बस चढेर उपचारका लागि नेपालगञ्ज आउँदै गरेकी बटालाको बीच बाटोमै मृत्यु भएपछि उनीसँगै रहेका बच्चालाई अन्य यात्रुले सम्हालेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो।  नेपालगञ्जको भेरी अस्पतालको आइसियुमा राखिएको उनको शव अहिले आफन्तहरुले अन्तिम संस्कारको लागि लगेका छन्।

३२ महिनाको बच्चासहित राडी भन्ने स्थानबाट नाइट बस चढेर नेपालगञ्जमा उपचारका लागि आउँदै गर्दा उनको मृत्यु भएपछि उनीसँगै रहेको बच्चाको  तस्विर बसका अन्य यात्रुहरुले सामाजिक सञ्जालमा राखेपछि घटना बाहिरिएको थियो। प्रहरीले भने उक्त घटना सामाजिक सञ्जालमा आइसकेपछि थाहा पाएको थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले भने, ‘कहालीलाग्दो घटना रहेछ, फेसबुकमा भाइरल भइसेको रहेछ, हामीलाई पछि थाहा भयो। अहिले माइती र घर दुवै पक्षका मान्छे आएर शव अस्पतालबाट लगेको छन्।’ धर्मकुमारीलाई प्रेसर हाइ र लो हुने समस्या रहेको श्रीमान दलबहादुरले बताए।

२८ वर्षीया बटालको माइतीघर डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर ३ गुनपाल हो। उनले रुकुम–पश्चिमको आठबिसकोट नगरपालिका–९ का दलबहादुरसँग बिहे गरेकी थिइन्। 

कमेन्ट लोड गर्नुस