धनगढीमा २ गौशाला, गाईवस्तु सडकमै
धनगढी: धनगढी उपमहानगरपालिकामा छाडा पशुको व्यवस्थापन हुन नसक्दा समस्या बढ्दै गएको छ। उपमहानगरले वडा नम्बर ७ को देवहरियामा तथा समुदायबाट वडा नम्बर ३ मा गौशाला बनाएको भएपनि सडक तथा बजार क्षेत्रमा अझै गाईवस्तु देख्न सकिन्छ।
२०७२ देखि गाईवस्तु घरबाट धपाउने गरेको देखेकी धनगढीको चटकपुरकी रेखा चन्द निकै मेहनत गरेर २०७४ मा गौ संरक्षण सेवा समिति गठन भएको बताउँछिन्। गाईवस्तु छाडा छोड्दा पाउने दुःख देखेर संरक्षणको अभियान चलाउन धनगढीको चटकपुर क्षेत्रका घरघरमा पुगेको उनको दाबी छ। उनले गाई संरक्षण गर्नुपर्छ भनेर धनगढीका ४ सय २३ घरमा पुगेर अनुरोध गरेको तथा समाजसेवी भोजराज पाठकको अध्यक्षतामा १५ सदस्यीय गौ संरक्षण समिति गठन भएको बताइन्।
‘२०७२ सालदेखि धनगढीमा गाईवस्तु सडकमा छोड्न थालेका हुन मान्छेहरुले। ती गाईलेको पाएको दुःख देखेर गाई संरक्षण गर्न टोलका घरघरमा पुगेकी हुँ। तर अहिले पनि गाई रोडमै देख्दा पीडा हुने गरेको छ’ उनले भनिन्, ‘करोडभन्दा बढी लगानीमा गौशाला बनाएको छ तर सडकका गाई त्यहाँ पुर्याउँदा पनि नराख्ने गरेका छन्।’
सरकारी निकाय तथा विभिन्न व्यक्तिबाट प्राप्त भएको दानबाट गौशाला निर्माण गरिएको भएपनि अहिले आएर छाडा गाईगोरु राख्न पैसाको अभाव रहेको गौशाला व्यवस्थापनले जनाएको छ। गौशालाकी प्रवन्ध निर्देशक रिता अवस्थीले चाहेर पनि छाडा गाई राख्न नसकेको बताइन्।
‘हाम्रो गौशालामा विभिन्न व्यक्तिले गर्ने सहयोगबाट मासिक ३६ हजार आम्दानी हुने गरेको छ। तर अहिले हामीसँग भएका ७० गाईका लागि मात्रै पनि मासिक ६३ देखि ६५ हजार खर्च भइरहेको छ’ उनले भनिन्, ‘हामीलाई गौशाला निर्माण गर्न आर्थिक सहयोग प्राप्त भएपनि गाईहरुलाई दैनिक खाना खुवाउन रकम अभाव छ’ उनले थपिन, ‘रकम हिनामिना गरेको र छाडा गाई नराखेको भन्ने आरोप लगाउनेहरुले आएर हिसाब हेर्न समेत आग्रह छ।’
धनगढीमा छाडा चौपायाका कारण सडक दुर्घटना तथा बालीनालीमा नोक्सानी हुने गरेको नगरवासीले बताउँदै आउका छन्। तर चौपाया व्यवसथापनमा भने सफलता हात पर्न सकिएको छैन।
धनगढीमा दुईटा गौशाला रहेका छन्। धनगढीको देवहरियामा रहेको गौशालाको व्यवस्थापन उपमहानगरले गरेको छ। तर न त्यसले बजार क्षेत्रबाट पशु लग्ने गरेको छ न त वडा नम्बर ३ मा रहेको गौ संरक्षण सेवा समितिले नै छाडा गाईवस्तु व्यवस्थापन गर्न सकेको छ।