सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा खोला मिचेर सडक र घर निर्माण, जमिन भासिएपछि बस्ती जोखिममा

२०७८ भदौ ४, १०:१५ नारायण अवस्थी

धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर ६ र ७ भएर कपने खोला बग्छ। कपने खोलाको दुबैतर्फ बस्ती बसेको छ। वडा नम्बर ६ मा पर्ने मनकामना टोलमा २५ परिवारको बसोबास रहेको छ भने वडा नम्बर ७ तर्फ पनि खोलाको किनारैदेखि दर्जन बढी घर बनेका छन्।

मनकामना टोलमा भने ३ वर्षदेखि केही घर चर्किने तथा घर लगाइएको जमिन भासिने समस्या देखिएको स्थानीय बताउँछन्। खोला मिचेर सडक निर्माण भएपछि घर भासिएको स्थानीय नरपतादेवी सेट्टीको भनाइ छ। ‘सडक नबन्दासम्म केही भएको थिएन। पञ्चायतकालदेखि यो ठाउँमा बसोबास गर्दै आएका छौँ। तर गत वर्षदेखि घर भएको जमिन भासिन थालेको छ,’ उनले भनिन्। 

कपने खोला किनारको जग्गा स्थानीय कारोबारीले तीन पटकसम्म बिक्री गरेको भेटिएको छ। खोला किनारको ऐलानी जग्गा प्रति कट्ठा ९ लाखका दरले केही महिना अगाडिसम्म कारोबार भएको स्थानीय बताउँछन्। 

एकातर्फ खोलाको बहाव क्षेत्रमा पर्ने जग्गाको कारोबार रोक्न सकिएको छैन भने अर्कोतर्फ दशकौसम्म सुरक्षित रहेको सडक किनारको घर तथा जग्गा पानीको निकास नभएको कारण भासिन लागेको छ। खोला मिचेर पानीको निकास थुन्ने काम भएको र बस्तीमा जोखिममा परेको तर्क स्थानीय कुन्ती शाहीको छ।

‘सडक बनाउँदा पनि खोला मिच्ने काम भएको छ। त्यसपछि सडकको नाली भएर आउने पानीको निकास खोलासम्म छैन। खोला अतिक्रमण गरिएको कारण यो बस्ती जोखिममा परेको छ,’ उनले भनिन्, ‘उपमहानगरपालिकामा साउन २७ गते निवेदन दिएका हौँ। तर मेयर उपमेयर हेर्न मात्रै आए। समस्या समाधानका लागि भने कुनै पहल नै गरेनन्।’

धनगढी उपमहानगरपालिकाले खोला भएको क्षेत्रमा घर तथा अन्य भौतिक संरचना बनाउन खोला किनारबाट १५ मिटर सेट ब्याक छोड्नुपर्ने मापदण्ड बनाएको छ। तर कपने खोला वारि तथा पारि निर्माण गरिएका केही घरकोे जग भने खोलाको किनारैबाट उठाइएको देख्न सकिन्छ। 

मनकामना टोलमा एकातर्फ खोला मिचिएको छ भने अर्कोतर्फ खोलाभन्दा निकै टाढा रहेका घर भासिन लागेका छन्। तर धनगढी उपमहानगरपालिकाले भने टोलवासीको निवेदन आएको तथा बस्ती संरक्षणका लागि आवश्यक काम गरिने जनाएको छ। 

‘टोलवासीको निवेदन आइसकेको छ। मेयर तथा उपमेयर त्यो ठाउँमा जानु पनि भएको छ। स्थानीयहरुलाई बोलाएर छलफल गरेर उचित निकास निकाल्छौँ,’ धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले भने।

धनगढीमा खोला किनार, वन क्षेत्र तथा सार्वजनिक तालको जग्गा खोजी खोजी बिक्री हुने गरेको छ। पहुँचवालाले अतिक्रमण गर्दै खोला, ताल तथा वनको जग्गा अन्य क्षेत्रको तुलनामा सस्तो हुने भएकाले न्यून आयस्रोत भएका सर्वसाधारणलाई बिक्री गर्दै आएका छन्। 
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस