सुदूर नेपाललाई विश्वसँग जोड्दै

६ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालय मातहत ल्याउने निर्णय ५ वर्षसम्म कार्यान्वयन भएन

२०७८ भदौ ३, ११:०७ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिम विश्वविद्यालय सिनेटको २०७३ भदौ १५ गते बसेको सभाले सुदूरपश्चिमका ६ वटा क्याम्पसलाई आङ्गिक बनाउने निर्णय गरेको थियो। तर त्यो निर्णय ५ वर्ष पुरा हुन लाग्दा समेत कार्यान्वयन भएको छैन। 

विश्वविद्यालय सभाले कैलालीको घोडाघोडी तथा लम्की बहुमुखी क्याम्पस, अछामको मंगलसेन क्याम्पस, डोटीको केदारज्योतिपुञ्ज क्याम्पस, दार्चुलाको शंकर बहुमुखी क्याम्पस तथा कञ्चनपुरको भानु बहुमुखी क्याम्पसलाई आङ्गिक बनाउने निर्णय गरेको थियो। तर कुनै पनि क्याम्पसलाई आङ्गिक बनाइएको छैन। 

लम्की बहुमुखी क्याम्पस प्रमुख अमर रावलले पाँच वर्षदेखि आङ्गिक बनाउने निर्णय कार्यान्वयन नहुँदा समस्या भएको बताए। ‘शिक्षा मन्त्रालय र अर्थ मन्त्रालय पटकपटक धाउनु परेको छ तर फाइल मात्रै यताको उता मात्रै गरेर सास्ती दिने काम भएको छ।’ उनले भने, ‘अहिले अर्थ मन्त्रालयमा फाइल पुगाएका छौँ।’ 

आङ्गिक हुने सूचिमा रहेका क्याम्पसहरुले विश्वविद्यालय सभाले गरेको निर्णय कार्यान्वयन अहिलेसम्म नहुनुमा सुदूरपश्चिम विश्वविद्यालको समेत कमजोरी रहेको गुनासो गरेका छन्। सभाबाट निर्णय भएपछि विश्वविद्यालय अनुदान आयोग तथा शिक्षा मन्त्रालयबाट निर्णय अनुमोदन भएपनि अर्थ मन्त्रालयले ६ वटा क्याम्पसका लागि दरबन्दी अनुसार वार्षिक सवा ८ करोड बजेट स्वीकृतीको प्रस्ताव उपर निर्णय नगर्दा अहिलेसम्म भौतारिनु परेको कञ्चनपुरको भानु बहुमुखी क्याम्पसका प्रमुख प्रकाश चन्दको दाबी छ।

‘२०७३ भदौ १५ गते गरिएको निर्णय कार्यान्वयन नहुनुमा विश्वविद्यालयको पनि कमजोरी छ’ उनले भने, ‘हामीलाई निर्णय कार्यान्वय गराउन निकै दबाब छ। २०७३ यता बनेका सबै प्रधानमन्त्रीहरुलाई समस्या राखेका छौँ तर पनि सफलता मिलेको छैन।’

यता विश्वविद्यालयले भने अहिलेसम्म विविध कारणले सभाले पारित गरेको निर्णय कार्यान्वयन नभएको भएपनि चाँडै ६ वटा क्याम्पसका विषयमा निकास निकाल्ने जनाएको छ। विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक यज्ञराज पाठकले क्याम्पसहरुको दरबन्दीको अध्ययन पछि समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताए।

सुदूरपश्चिम विश्वविद्यालय सिनेटको ६ सामुदायिक क्याम्पसलाई आङ्गिक बनाउने निर्णय ५ वर्षसम्म पनि कार्यान्वयन नहुँनुले सुदूरपश्चिममा राज्यले अझै लगानी गर्न आलटाल गर्न खोजिएको रुपमा हेरिएको छ। 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस