सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगर आफैँले ठाउँठाउँमा खोला मिच्यो !

२०७८ भदौ ३, ०६:३८ नारायण अवस्थी

धनगढी : सार्वजनिक जग्गा अतिक्रमण भएको क्षेत्रमा संरचना निर्माणको अनुमति दिएर डुबानको समस्या निम्त्याएको धनगढी उपमहानगरपालिकाले ठाउँठाउँमा आफैं खोला  मिच्न थालेको छ। अतिक्रमित क्षेत्रमा नक्सा पास गरि संरचना निर्माणको अनुमति दिँदै आएको उपमहानगरपालिकाले ठाउँठाउँमा खोला पनि मिच्न थालेको हो। 

वडा नम्बर १, २, ३, तथा ४ को संगम रहेको कैलाली पुलको साढे ७ मिटर पर्ने गरि धनगढी उपमहानगरपालिकाले कैलाली खोला अतिक्रमण गरेको छ। उपमहानगर क्षेत्र भएर बग्ने खोलाको किनारबाट १५ मिटर दायाँ–बाँया छोडेर मात्रै भौतिक संरचना बनाउनुपर्ने मापदण्ड भए पनि कैलाली पुलमा आफैँले बनाएको मापदण्डको उपमहानगरपालिकाले उल्लंघन गरेको स्थानीय पृथ्वीराज घिमिरेले बताए। 

‘कैलाली खोलाको कैलाली पुलमा खोला मिचेर पार्क बनाउन तटबन्ध गरिएको छ। तर उपमहानगरपालिका आफैँले खोलाको दाँया-बायाँ किनारबाट १५ मिटर छोड्नुपर्ने मापदण्ड बनाएको छ,’ उनले भने, ‘उपमहानगरले नै खोला मिच्यो भने अरुले झन के गर्लान्।’ 

कैलाली पुलको दक्षिणतर्फ धनगढी उपमहानगरपालिकाले १७ लाखको लागतमा तटबन्ध निर्माण गरेको छ भने पार्क निर्माणमा थप बजेट खर्च भएको छ। तर स्थानीयले भने खोला बग्ने क्षेत्र मिचेर गरिएको तटबन्धको बिरोध गरेका छन्। ‘धनगढीमा सबैजसो खोला किनार अतिक्रमण गरेर घर तथा अन्य भौतिक संरचना बनाउने क्रम अझै रोकिएको छैन। त्यसैमा स्थानीय सरकारले समेत आफैँले बनाएको मापदण्ड उल्लंघन गर्दा अतिक्रमण झनै बढेको  छ। यसले उपमहानगर क्षेत्रमा डुबानको समस्या बढेको छ,’ धनगढीका गिरिजाप्रसाद पनेरुले भने।

धनगढी उपमहानगरपालिकाले खोला अतिक्रमण गरि निर्माण भएका अवैध संरचना जोगाउनका लागि पनि बजेट विनियोजन गर्दै आएको छ। यस्तै विभिन्न विकासे अड्डाले पनि अतिक्रमित क्षेत्रमा बनेका संरचना जोगाउन तटबन्धन लगायतका योजना कार्यान्वयन गरेका छन्। यस्ले अतिक्रमणकारीलाई झनै सहयोग मिलेको छ। यता धनगढी उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष तथा प्रवक्ता सन्तोष मुडभरीले भने कैलाली खोलाको पानी बग्ने भाग छोडेर तटबन्ध गर्दै पार्क बनाएको दाबी गरे।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस