सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका महिला स्थानीय तहको बजेट र नीतिबारे बेखबर

२०७८ भदौ १, १२:२९ खबर संवाददाता

एकेन्द्र खत्री, अछाम: अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अगुवा महिलाले गाउँपालिकाले ल्याउने नीति तथा कार्यक्रमबारे आफूलाई जानकारी नै नहुने गुनासो गरेका छन्। सोमबार गाउँपालिकाको कार्यालयमा भएको छलफल कार्यक्रममा अगुवा महिलाहरूले महिला र सीमान्तकृत समुदायका लागि ल्याइने कार्यक्रम र बजेट कार्यपालिका सदस्य र पहुँचमा रहेका व्यक्तिले एकतर्फी निर्णय गरेर ल्याउने गरेको आरोप लगाएका हुन्।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य समेत रहेकी रतन दमाईले गाउँपालिकाले ल्याउने नीति तथा कार्यक्रममा आफूसँग समन्वय नै नगरी ल्याउने गरेको बताइन्। उनले वडाबाट महिला र सिमान्तकृत समुदायका लागि विनियोजित हुने बजेट समान रूपमा बाडफाँड भएपनि गाउँपालिकाले महिला तथा बालबालिका शाखाका लागि विनियोजन भएको बजेट खर्चबारे जानकारी नगराउने गरेको गुनासो गरिन्। 

दलित महिला संघ अछाम फेडोले आयोजना गरेको छलफल कार्यक्रममा बोल्ने अधिकांश वक्ताले गाउँपालिकाको महिला तथा बालबालिका शाखाको बजेट खर्च पारदर्शीरुपमा खर्च नभएको बताएका छन्। उता वडा नम्बर ६ दर्नाका महिला अगुवा निर्मला कडायतले महिलाका नाममा आएको बजेट केही जनप्रतिनिधि बाहेक अरूले नपाएको बताइन्। 

महिला लक्षित कार्यक्रममा विनियोजन भएको बजेट वडा स्तरका महिलालाई खबरै नगरी खर्च गर्ने गरेको उनले बताइन। उनले महिलाको नाममा आउने कार्यक्रममा पनि गाउँपालिकाका जनप्रतिनिधिले आफ् निकटका लागि बजेट खर्च गरेको आरोप लगाइन्। 

यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीले महिला र सीमान्तकृत समुदायका बालबालिका र लक्षित समुदायका लागि विनियोजन भएको बजेटमा एकलौटी निर्णय नगरेको बताए। फेडोले आयोजना गरेको लैङ्गिक उत्तरदायी बजेट, नीति, योजना र कार्यान्वयनमा महिला जनप्रतिनिधिको भूमिका विषयक १ दिने छलफल कार्यक्रमको सहजीकरण गर्दै उनले महिला र सीमान्तकृत समुदायको क्षेत्रमा उल्लेख्य नीति र जीवन उपयोगी कार्यक्रम ल्याएको बताए। 

कार्यक्रममा प्रमुख अतिथि रहेका बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर खड्का भने सञ्चारकर्मीप्रति गुनासो गर्न मै व्यस्त भएका थिए। कार्यक्रममा लैङ्गिक उत्तरदायी बजेट, नीति, योजना र कार्यान्वयनमा महिला जनप्रतिनिधिहरूको भूमिका विषयमा छलफल गरिएको भएपनि गाउँपालिका अध्यक्ष खड्काले भने सञ्चारकर्मीमाथि विभिन्न टिप्पणी गर्न मै आधा घण्टा बढी समय खर्चिए। 

कार्यक्रमको विषयबस्तुप्रति ध्यान नदिई गाउँपालिका अध्यक्ष खड्का सञ्चारकर्मीका बारेमा दुखेसो पोख्न थालेपछि कार्यक्रमका सहभागीले उनको कार्य क्षमताको आलोचना गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस