समुदाय विशेषका मन्दिरमा करोडौँ लगानी, भू–स्वर्गमा पूर्वाधार थप्ने छैन योजना
धनगढी : समुदाय विशेषका मन्दिरमा वार्षिक करोडौँ लगानी गर्दै आएको सुदूरपश्चिम सरकार भू–स्वर्गमा पूर्वाधार थप्न उदासिन देखिएको छ। भू–स्वर्ग खप्तडसहित प्रदेशका प्रमुख पर्यटकीय क्षेत्रमा सुदूरपश्चिम सरकार लगानी गर्न कन्जुसाइरहेको हो।
समुदाय विशेषका मन्दिर निर्माण गरि पर्यटन प्रवद्र्धन गर्ने दाबी गर्दे आएको प्रदेश सरकार मुख्य पर्यटकीय क्षेत्रमा भने योजनाविहीन देखिएको छ। वगतमा संघीय सरकारले खप्तड क्षेत्रको विकासका लागि वार्षिक ७÷८ करोड बजेट विनियोजन गर्दै आएको थियो।
तर पर्यटन विकास समिति प्रदेश सरकार मातहतमा आएपछि खप्तडमा कुनै काम हुन सकेको छैन। प्रदेशका चार पर्यटन पूर्वाधार विकास समितिका लागि गत आर्थिक वर्षमा ३ करोड विनियोजन गरेको सुदूरपश्चिम सरकारले चालू आर्थिक वर्षमा २ करोड ५० लाख मात्र विनियोजन गरेको खप्तड क्षेत्र पर्यटन पूर्वाधार विकास समितिका अध्यक्ष हर्कबहादुर सिँहले बताए। उनले भने, ‘एक समितिले बढीमा ५०÷६० लाख मात्र पाउने भनिएको छ। खप्तड अन्य पर्यटकीय क्षेत्रभन्दा बढी महत्वपूर्ण हो। तर एक करोड नै दिए पनि केही गर्न सकिने अवस्था छैन।’
खप्तड, रामारोशन, बडिकेदार र वैजनाथ पर्यटन पूर्वाधार विकास समितिका लागि २ करोड ५० लाख मात्र विनियोजन गरिएकाले समितिहरु योजनाविहीन भएका हुन। पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणका लागि न्यून बजेट विनियोजन गरिएको भन्दै कर्मचारीको तलवसमेत अपुग हुने देखिएको खप्तड पर्यटन विकास समितिका कार्यकारी अधिकृत भीमबहादुर खड्काले बताए। उनले भने, ‘हामीले माग गरेअनुसारको रकम विनियोजन भएको छैन।’
अहिले खप्तड लगायत अन्य पर्यटकीय क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको संख्या पनि बढेको छ। तर त्यहाँ पूर्वाधार नहुँदा पर्यटकलाई सास्ती भइरहेको छ। सुदूरपश्चिमको पर्यटन क्षेत्रको विकासका लागि गठन गरिएका समितिहरु कामविहीन भएको रामारोशन पर्यटन विकास समितिका अध्यक्ष चक्र रावलले बताए।
उनले भने, ‘हामीले विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार पारेका छौँ। तर बजेट न्यून भएकाले अन्योलता छ।’ आन्तरिक तथा भारतका पर्यटकबाट सुदूरपश्चिमले राम्रो आम्दानी गर्न सक्ने भए पनि सुदूरपश्चिम सरकार भने समुदाय विशेषका मन्दिरमा लगानी गरेर प्रतिफल खोज्न थालेको छ।