ईपीएल खेल्ने खेलाडीको तलब २० प्रतिशतले बढ्यो
काठमाण्डौ – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब बढेको छ।
ईपीएलले हिजो प्रेस विज्ञप्ति निकाल्दै चौथो संस्करणको प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब २० प्रतिशतले बढेको जनाएको हो। कोरोना महामारीको कारण खेलाडीले ब्यहोरेको कठिनाइलाई मध्यनजर गर्दै तलब २० प्रतिशतले बढाइएको ईपीएलले जनाएको छ।
प्रतियोगितामा सहभागी टिमका मालिक र लिग व्यवस्थापनको बैठकले तलब बढाउने निर्णय गरेको हो। ईपीएल आउँदो असोज ९ गतेदेखि २३ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा हुनेछ। प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन्।
प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट सङ्घ (क्यान) ले मान्यता दिइसकेको छ।