बैतडीमा असारभित्र सक्ने भनिएको अक्सिजन प्लान्ट जडान अझै शुरू भएन
बैतडीः जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट स्थापनाको काम अझै थालिएको छैन। गत असारभित्र अक्सिजन प्लान्ट निर्माण सम्पन्न गर्नेगरी हेल्थ केयर सप्लायर्स, काठमाडौंसँग सम्झौता भएको भएपनि कम्पनीले हालसम्म पनि प्लान्ट जडानको काम शुरू नगरेको हो।
प्लान्ट स्थापना गर्न संघीय सरकारबाट १ करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट ८० लाख रुपैयाँ बजेट प्राप्त भएको थियो। बोलपत्र आह्वान गरी सप्लायर्स छनोट गरेपनि हालसम्म पनि जडानको काम शुरू नभएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले बताए।
यो आर्थिक वर्षको असारभित्र प्लान्ट स्थापना गर्ने भनेर सम्झौता भएको जोशीले बताए। कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै जिल्लामा अक्सिजन अभाव भएपछि प्रदेश सरकार र संघीय सरकारले प्लान्ट स्थापनाका लागि बजेट विनियोजन गरेको थियो। अहिले तेस्रो लहर आउने सम्भावना बढेपनि प्लान्ट स्थापनाको काम नहुँदा महामारी फैलियो भने पनि उपचारमा समस्या हुने देखिएको छ।