डडेल्धुराको अमरगढी नगरपालिकासँग काठमाडौं महानगरको भगिनी सम्बन्ध, डेढ करोड सहयोग
धनगढी: काठमाडौँ महानगरपालिकाले थप दुई नगरपालिकासँग भगिनी सम्बन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ। मंगलबार महानगरपालिकाले सुदूरपश्चिम प्रदेशको अमरगढी नगरपालिका र प्रदेश नं १ को पाख्रीबास नगरपालिकासँग सम्बन्ध स्थापनामा हस्ताक्षर गरेको हो।
समझदारीपत्रमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य तथा अमरगढी नगरपालिकाका तर्फबाट विश्वेश्वरप्रसाद ओझा र पाख्रीबास नगरपालिकाको तर्फबाट बृषबहादुर राईले हस्ताक्षर गरेका हुन्।
मैत्रीपूर्ण सम्बन्धमार्फत संस्थागत प्रणालीलाई अझ सुदृढ र सबल बनाउने, आपसी हित र सहकार्यलाई बढावा दिने, असल अभ्यास र अनुभवको आदान प्रदान गरी स्थानीय स्वायत्त शासन, स्वशासन र समृद्ध नगर निर्माणको अभियानमा आपसी समन्वय, साझा प्रयत्न र सहकार्य गर्ने उद्देश्यले दुई नगरबीच भगिनी सम्बन्ध स्थापनाको गरिएको कामपा प्रमुख शाक्यले बताए।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ को खण्ड (ट) को कानूनी व्यवस्थाबमोजिम सङ्घीय राजधानी काठमाडौँमा रहेको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वका विषयमा कामपाले भगिनी सम्बन्ध स्थापनाको कार्यलाई अघि बढाएको हो।
काठमाडौँ महानगरपालिकाले भगिनी सम्बन्ध स्थापनासँगै अमरगढी नगरपालिकाको वडा नम्बर २ र ५ मा अवस्थित अमरगढी उद्यान निर्माणका लागि एक करोड ५० लाख सहयोग गरेको छ।