मेसीलाई पीएसजी जान रोक्ने बार्सिलोनाको प्रयास, युरोपियन कमिसनमा उजुरी
काठमाडौं : बार्सिलोना हालै अलग भएका अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीलाई फ्रान्सेली क्लव पेरिस सेन्ट जर्माइन पीएसजी जानबाट रोक्ने प्रयास शुरू भएको छ। यो प्रयास अरु कसैले नभएर बार्सिलोनाले नै गरेको हो।
डेलीमेलका अनुसार बार्सिलोनाले एउटा ल फर्ममार्फत युरोपियन कमिसनमा मेस्सीलाई पीएसजी जानबाट रोक्न उजुरी गरेको छ।
ल फर्मले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फुटबल क्लव बार्सिलोनाका साझेदारहरूको तर्फबाट मेरो ल फर्मले युरोपियन कमिसनमा एउटा उजुरी तयार गरेको छ, र मेस्सीलाई पीएसजीसँग हस्ताक्षर गराउनबाट रोक्न फ्रान्सका नागरिक र प्रशासकीय अदालतहरुबाट अस्थायी प्रतिबन्धको माग गरेको छ।’
फाइनान्सियल फेयर प्लेको अनुपातमा पीएसजीको अवस्था बार्सिलोनाको भन्दा खराब भएको भन्दै यो सम्झौता हुन नसक्ने दावी गरिएको हो। बार्सिलोनाले आफ्नो फेयर प्ले अनुपात खराब रहेकै कारण मेसीलाई गुमाउनुपरेको बताएको थियो।
‘सन् २०१९-२० मा पीएसजीको तलब(आम्दानी अनुपात ९९ प्रतिशत थियो भने बार्सिलानोको ५४ प्रतिशत थियो। यसबीचमा यो अन्तराल बढेको छ।’ बार्सिलोनाले आफ्नो युरोपेली प्रतिद्वन्द्वी पीएसजीमा मेस्सीलाई पठाउन चाहँदैन। त्यसैले उसले यो सम्झौता रोक्न हरसम्भव प्रयास गर्ने बताइएको छ।
मेस्सी बार्सिलोनाबाट अलग भएसँगै पीएसजीले उनलाई ल्याउन प्रक्रिया अघि बढाएको थियो। मेस्सीका एजेन्ट तथा बुबासँग पीएसजीको कुराकानी भइसकेको छ। यद्यपि, यस विषयमा औपचारिक जानकारी दिइएको छैन।