मेस्सी बिनाको बार्सिलोनाको उत्कृष्ट शुरुवात
एजेन्सी : बार्सिलोनाले सन् २०२१/२२ सिजन उत्कृष्ट तरिकाले सुरुवात गरेको छ । वार्षिकरुपमा खेलिने जोआन ग्याम्पर ट्रफीमा बार्साले युभेन्टसलाई ३–० गोलले पराजित गरेको हो ।
लियोनेल मेस्सीले क्लब छाडेपछिको पहिलो खेल एस्टाडी जोहान क्रायफ मैदानमा ३ हजार समर्थकसामु खेलिएको थियो। खेलको शुरुवातमा समर्थकहरुले मेस्सीको नाम लिँदै मैदान गुञ्जाएका थिए। मेस्सीबिना मैदानमा उत्रेको बार्सिलोनाले उत्कृष्ट खेल प्रदर्शन गर्दै समर्थकहरुलाई राहत दिएको थियो।
खेलको तेस्रो मिनेटमा नै मेम्फिस डिपेले बार्सिलोनालाई अग्रता दिलाए। प्रिसिजनमा डिपेले बार्साका लागि तीन गोल गरिसकेका छन्। उता, युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डो, म्याथिस डि लिट र अल्भारो मोराटाले गोल फर्काउने प्रयास गरे पनि गोलकिपर नेटोले सबै प्रयास विफल बनाएका थिए।
दोस्रो हाफमा मार्टिक ब्राथवेटले बार्साको अग्रता दोब्बर बनाए भने खेलको इन्जुरी समयमा रिकी पुइगले अर्को गोल थप्दै बार्सिलोनालाई सहज दिलाए।