सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा परीक्षा अगावै कक्षा ११ को प्रश्नपत्र बाहिरियो, प्रश्नपत्रको मूल्य सयको रिचार्जकार्ड

२०७८ साउन २४, ०५:४९ खबर संवाददाता

अछाम: अछामको एक विद्यालयमा सञ्चालन भइरहेको कक्षा ११ को परीक्षाको प्रश्नपत्र बाहिरीएको प्रमाण सार्वजनिक भएको छ। उच्च माध्यमिक शिक्षा परिषद् अन्तरगत कक्षा ११ को प्रश्नपत्र विद्यार्थीको हातमा पुगेको छ। 

आइतबार सञ्चालन भएको लेखा विधिका सिद्धान्तको प्रश्नपत्र विद्यार्थीले शुक्रबार नै पाएका थिए। सरस्वती माध्यमिक विद्यालय जयगढमा अध्ययनरत विद्यार्थीले शुक्रबार नै फेसबुक म्यासेन्जरमार्फत प्रश्नपत्र पाएका हुन्। 

डण्डीराज शर्माले आफूलाई जिल्ला बाहिर रहेका एक साथीले म्यासेन्जरमार्फत प्रश्नपत्र पठाएको बताएका छन्। शर्मासँगै कक्षा १० सम्म सरस्वती माध्यमिक विद्यालयमै अध्ययन गरेका साथीले एक सयको रिचार्ज कार्ड उपलब्ध गराइदिएमा लेखा विषयको प्रश्नपत्र पठाइदिन्छु भनेका थिए। उनले ती साथीको मोबाइलमा रिचार्ज हालेर शुक्रबार प्रश्नपत्र पाएका थिए। 

शर्माका साथीले सरस्वती माध्यमिक विद्यालयका शिक्षकले परीक्षार्थीलाई उक्त प्रश्नपत्र उपलब्ध गराएपछि आफूले पाएको बताएका थिए। उनलाई त्यो कुरा विश्वास भने लागेको थिए। 

तर आइतबार हातमा परेको प्रश्नपत्र आफूलाई शुक्रबार आएको प्रश्नपत्रसँग मिलेपछि उनी अचम्ममा परे। त्यसपछि डण्डीराज शर्माले प्रश्नपत्र बाहिरीएको भनेर सबैलाई भनेतापनि विद्यालयले परीक्षा रद्द गरेन। प्रश्नपत्र बाहिरीएको विषयमा जानकारी गराउँदा उक्त परीक्षा आन्तरिक मूल्याङ्कनका लागि मात्रै भएको बताउँदै शिक्षकहरूले बेवास्था गरेको शर्माले गुनासो गरे। 

कोरोना महामारीपछि नयाँ कार्यविधि अनुसार कक्षा ११ को परीक्षा स्वयम् विद्यालयले सञ्चालन गर्ने र परीक्षाको जाँच समेत स्वयम् विद्यालयले गर्ने व्यवस्था गरिएको छ।

प्रश्नपत्र बाहिरीएको विषयमा बुझ्न सरस्वती माध्यमिक विद्यालय जयगढका प्रधानाध्यापक टेकबहादुर कुँवरलाई सम्पर्क गर्दा उनको फोन उठेन।

बान्नीगढी जयगढ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीले भने प्रश्नपत्र बाहिरीएको घटनाबारे आवश्यक छानबिन गरि कारवाही गर्ने बताएका छन्।

कमेन्ट लोड गर्नुस