सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा धमाधम काठ तस्करी हुँदै, वनले बरामद गरेको काठ समेत हुन्छ 'गायब'

२०७८ साउन २१, ०६:३२ नारायण अवस्थी

धनगढी: कैलालीका सामुदायिक वनहरुबाट काठ तस्करी हुने क्रम अझै रोकिएको छैन। बर्सातमा वनबाट काठ तस्करी हुने घटना बिरलै हुने भएपनि धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका क्षेत्रका सामुदायिक वनमा भने काठ चोरी–तस्करी हुँदै आएको छ।  

साउन १८ गते बिहान ३ बजेको समयमा धनगढी उप–महानगरपालिका वडा नम्बर ११ को बिजुलीयामा काठ तस्करी भइरहेको सूचना प्रहरीलाई प्राप्त भयो। सूचना पाए लगत्तै बिजुलिया पुगेको प्रहरी टोलीले जाली सामुदायिक वन क्षेत्रमा एक हल गोरुसहितको डल्लबमा राखिएको दुई गोलिया र भुइँमा रहेको दुई गरी चार गोलीया सालको काठ बरामद गर्यो।

तर तस्करीमा संलग्न व्यक्ति भने प्रहरी देख्नासाथ फरार भए। तस्कर भागेको कारण देखाउँदै प्रहरीले काठ बेवारिसे भन्दै डिभिजन वन कार्यालय, धनगढीलाई बुझायो। धनगढीको तारानगर सव–डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत जीसन कार्कीले घटनाबारे अनुसन्धान भइरहेको बताए। ‘काठ ओसार्न प्रयोग भएको एक हल गोरु र डल्लब पनि बरामद भएको छ। तस्करीमा संलग्न व्यक्ति भने फरार रहेका छन्। कुन सामुदायिक वनको काठ हो भन्ने पनि पत्ता लागेको छैन’ उनले भने।

यसैगरी गोदावरी नगरपालिका वडा नम्बर ४ को तेघरी सामुदायिक वन क्षेत्रमा ९ गोलिया सालको काठ तस्करहरुले काटेको सूचना सामुदायिक वनले पायो। सामुदायिक वनका पदाधिकारीहरुले उक्त काठ बरामद तथा ढुवानी गर्न प्रक्रिया सुरु गरे। तर ९ गोलिया काठमा ४ गोलिया काठ बाटोबाटै हरायो। तस्करहरुसँग सामुदायिक वनका पदाधिकारीहरुको मिलेमतो रहेकाले काठ बाटोमै गायब भएको दाबी गरिएको छ। 

तर सव–डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख शेरबहादुर भण्डारीले भने तस्करी भएको काठ वनका पदाधिकारी ल्याउने क्रममा वनमा रहेको ४ गोलिया हराएको बताए। ‘तस्करहरले ९ गोलिया काठ काटेका रहेछन्। वनका पदाधिकारीले ल्याउने क्रममा वनमा रहेको काठ चोरी भएको हो’ उनले भने, ‘राम्रो काठ चोरी भएको रहेछ, नराम्रो सव–डिभिजनमा ल्याउने भन्दै थिए, मैले वनकै घाटगद्दीमा राख्नु भनेको छु।’ 

जिल्लामा हुँदै आएको काठ तस्करी रोक्न नियमित गस्ती भइरहेको डिभिजन वन कार्यालय धनगढीका प्रमुख वन अधिकृत रामचन्द्र कँडेलको दाबी छ। ‘हामीले नियमित गस्ती पनि गरिरहेका छौँ। गत आर्थिक वर्षमा विभिन्न वनबाट तस्करी भएको काठ तथा तस्करहरुलाई पनि समातेर मुद्दा चलाएका छौँ’ उनले भने, ‘सामुदायिक वनको तस्करी रोक्न समुदायले पनि चनाखो हुनुपर्छ। हामीले पनि प्रयास गरिरहेका छौँ।’ 

डिभिजन वन कार्यालय धनगढीले आर्थिक वर्ष २०७७÷०७८ मा ३४ वटा वन मुद्दामा ६३ जनाको नाममा मुद्दा दायर गरिएको तथा तीन हजार १ सय १७ क्युव फिट काठ बरामद गरेको बताएको छ।

कोरोना भाइरसको महामारी फैलिएपछि कैलालीका सामुदायिक वनमा काठ तस्करी झनै मौलाएको जनगुनासो छ। वन कर्मचारीले गस्ती समेत गर्न छोडेको आरोप उपभोक्ताले लगाउने गरेका छन्। तर वन अधिकारीले जनशक्ति अभावले पनि वन संरक्षणमा समस्या भइरहेको बताउने गरेका छन्।


 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस