सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सार्वजनिक ताल २९ लाख कट्ठाका दरले बिक्री

२०७८ साउन २१, ०७:१५ नारायण अवस्थी

धनगढी : उपमहानगरपालिकामा सार्वजनिक ताल अतिक्रमणको चपेटमा परेका छन्। बजार क्षेत्रमा रहेका ताल अतिक्रमणमा चपेटामा परेका हुन्। धनगढी नगर विकास समितिले अन्य क्षेत्रको जग्गा प्रति कट्ठा २ सय ३७ रुपैयाँमा बिक्री गरेकोमा सार्वजनिक तालको जग्गा व्यक्तिहरुले नै प्रति कट्ठा २९ लाखका दरले बिक्री गरेको भेटिएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मटियारीको खुटिया–दीपायल द्रुत मार्ग छेउमा रहेको डबरा तालको जग्गा बिक्री भएको हो। २२ कट्ठा ६ धुर क्षेत्रफलमा रहेको डबरा ताल अतिक्रमण गरि बिक्री गरिएको हो। ताल क्षेत्रमै दुईटा घर निर्माण भएका छन् भने केही घडेरी पनि बिक्री गरिएको बताइएको छ। अन्य क्षेत्रमा भने धान खेती गरिएको छ। धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ भएर बग्ने सुकुटी नालाको सिरानमा रहेको डबरा तालमा दुई घर सहित बाँकी रहेको जग्गामा धान खेती गरिएको छ।

तालको जग्गा हो भन्ने थाहा नभएको तर स्थानीय सिद्धराज जोशीबाट १४ लाख ५० हजारमा १० धुर जग्गा किनेको तालको जग्गामा घर निर्माण गरेका एक स्थानीयले बताए। तर त्यो ताल संरक्षण गर्न खोजिएपनि साथ तथा सहयोग नपाएको वडा नम्बर ६ का वडाध्यक्ष भागिराम चौधरीले बताए। ‘२०७४ मा निर्वाचित भए लगत्तै तालको विषयमा जनाकारी भएको हो,’ उनले भने, ‘स्थानीयसँग पनि छलफल गरेको थिए। तर संरक्षण गर्न सहयोग नहुँदा समस्या भएको छ। हाम्रो वडामा १३ वटा ताल रहेकोमा १२ वटामा भने संरक्षणका काम भइरहेको छ।’

डबरा तालमा घर निमार्णपछि सडक ग्राबेल गर्न नगरपालिकाले नै बजेट हालेको बताइएको छ। सो तालको क्षेत्रफल ७ हजार ५ सय ५५ वर्ग मिटर भएपनि अहिले भने ताल पुरिएको छ। ताल तथा सीमसार क्षेत्रको संरक्षण गर्नु स्थानीय सरकारको जिम्मेवारी भएपनि धनगढीमा रहेका खोलानाला तथा ताल तलैया र बाँकी रहेको सार्वजनिक जग्गा अतिक्रमण हुने क्रम जारी छ।

तर धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले भने असोजपछि अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना डोजर लगाएर हटाउने तथा नियम विपरित वितरण भएका लालपुर्जा बदर गर्ने बताउँदै आएका छन्। 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस