सुदूर नेपाललाई विश्वसँग जोड्दै

अटो चलाएर जीविका चलाउँदै

२०७८ साउन १६, ०४:५३ रासस

कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका– ३ का ४२ वर्षीय गणेश चौधरी अटो रिक्सा चलाएर जीविका चलाउँदै आएका छन्। उनी रहरले नभएर बाध्यताले अटो व्यवसायमा संलग्न छन्। उनले चार कठ्ठा जग्गा बेचेर अटो खरिद गरेका हुन्।

सूर्योदयदेखि साँझ अबेरसम्म तत्लीन उनी सवारी नपाएको दिन रितो हात घरसमेत फर्किन्छन्। कमाई नभएको दिन निराश भने हुनन्। औसतमा दैनिक उनको कमाई एक हजार जति हुने गर्दछ। अटोबाट हुने कमाइबाट सन्तुष्ट भएको उनी बताउछन्।

परिवारसँगै बस्न पाएको छु”, उनले भने, “दिनभरि अटो चलाउँछु साँझ परिवारसँग बसेर सुख दुःख साटासाट गरी बस्न पाएको छु। यसमै सन्तुष्ट छु।” उनका परिवारमा एक छोरा, एक छोरी र श्रीमती  छन्। उनले दुई वर्ष वैदेशिक रोजगारमा साउदी अरेबिया र चार वर्ष मलेशियामा बिताएका थिए।

“धेरै कमाई हुन्छ भन्ने सपना बोकेर वैदेशिक रोजगारीमा कर्जा गरेर गएको थिए। कर्जा तिर्नमै ठिक्क भयो। दुई पटक विदेशिए पनि कमाई हुन सकेन”, उहाँले भन्नुभयो, “थोरै तलबमा धेरै काम गर्नु पर्दथ्यो।

केही आफनै खर्चका लागि ठिक्क हुन्थ्यो। बचेको रकम परिवारको खर्चका लागि पठाउँदा सकिन्थ्यो । बचत गर्न सकिएन् । पैसा कमाउने उद्देश्यले वैदेशिक रोजगारीमा गएको थिए। पैसा नै बचत नहुने भएपछि घर फर्के।” बेरोजगार भएर बस्नुभन्दा जग्गा बेचेरै भए पनि अटो किनेको उनी बताउछन्। अटो किन्न चार कठ्ठा र वैदेशिक रोजगारीमा जानुअघि बिरामी पर्दा दुई कठ्ठा जग्गा बेच्नु परेको उनीले बताए।

वैदेशिक रोजगारीमा जानुअघि उनी तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा समेत सहभागी थिए। उहाँ विसं २०५८ भदौको २९ गतेलाई विर्षने प्रयत्न गरे पनि विर्षन सक्दैनन्। उनले भने “ माटोका खाल्डोमा रातभरी बसे। ”  

गणेश जस्तै जनयुद्धमा सहभागी भएका वसन्त चौधरीसमेत अटो चलाएर जीविका चलाउँदै आएका छन्। शुक्लाफाँटा– ३ जोनापुरका चौधरीले अटो रिक्सा चलाउन थालेपछि परिवारको खर्च सहजरुपमा चल्न थालेको छ। बैंकबाट रु आठ लाख ऋण निकालेर चौधरीले अटो रिक्सा खरिद गरेका छन्।

“पाँच लाखमा आटोरिक्सा र रु तीन लाख खर्च गरेर घरमै पसल राखेको छु”, उनले भने, “अटो रिक्सा मैले सम्हालेको छु। पसल श्रीमतीले सम्हालेकी छन्। सहजरुपमा परिवारको खर्च चलेको छ।” एक वर्षदेखि अटो रिक्सा चलाउँदै आएका उहाँले बैंकबाट निकालेको आधा ऋणबापतको रकम चुक्ता गरिसकेका छन। अटो रिक्साबाट मात्रै दैनिक उनले एक हजार बढी रकम आम्दानी गर्दै आएका छन्।

रोजगारी केही नहुँदा अटो रिक्सा र पसल एकसाथ सञ्चालन गर्नुपरेको उनले बताए। तत्कालीन विद्रोही नेकपा माओवादी पार्टीमा आबद्ध भएर एक दशकसम्म जनयुद्धमा सहभागी भएका चौधरी पार्टीले बेवास्ता गरेपछि क्षेत्रीय ब्युरो सदस्यबाट राजीनामा दिएर व्यवसायमा संलग्न भएको बताए।

उनले भने, “ राजनीतिलाई थाति राख्दै रोजगारीमा संलग्न भएपछि जीवन सहज भएको छ। राजनीतिमा फर्कने योजना छैन।” बाध्यताले जग्गा बैंकमा धितो राखेर कर्जा निकालेर अटो खरिद गरी परिवारको खर्च चलाउनुपरेको उनले बताए।
 

कमेन्ट लोड गर्नुस