सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णालीमा बेपत्ता जोशी दम्पतीको कथा, जो दशकदेखि फर्किएका थिएनन् घर

२०७८ साउन १६, ११:३३ खबर संवाददाता

नाम : चन्द्रप्रसाद जोशी र रुपी जोशी ।
घर : आदर्श गाउँपालिका डोटी ।
शुक्रबार कर्णालीमा जीप खसेको समाचारमा बेपत्ताको नाम र ठेगाना यही उल्लेख थियो। त्यस्को केही समयपछि धनगढीमा रहेका चन्द्रप्रसादका दाई (ठूलो बुवाको छोरा) लेखराजलाई फोन आयो। डडेल्धुराको भागेश्वर गाउँपालिकाबाट आफन्तले फोन गर्दै भने, ‘चक्र कर्णालीमा बेपत्ता भएको समाचार छ। समाचारमा फोटो पनि चक्रको नै छ। तर नाम र ठेगाना भने फरक (चन्द्रप्रसाद र आदर्श डोटी) छ। यसबारे विस्तृतमा बुझ्न प¥यो।’

लेखराजले थप बुझ्नका लागि धनगढीमै रहेका मामाका छोरा चेतराज जोशीलाई फोन लगाए। चेतराज भन्छन्, ‘बेपत्ता भएको जानकारी पाएपछि चिसापानी प्रहरीलाई बुझे। त्यसपछि मात्रै चक्र र उनको परिवार बेपत्ता भएको पुष्टि भयो।’ बेपत्ता भएका जोशीको घर आदर्श गाउँपालिका नभएर डडेल्धुराको भागेश्वर गाउँपालिका–४ बगरकोट हो। उनको गाउँको नाम चक्रप्रसाद जोशी हो। तर उनी दशक बढी समयदेखि आदर्श गाउँपालिकामा बस्दै आएका थिए। 

‘भागेश्वरको बगरकोटमा चक्रका दुई छोरा र एक श्रीमती पनि छन्,’ लेखराजले भने, ‘१०/१२ वर्षदेखि चक्र घर फर्किएका थिएनन्। डोटीको आदर्श गाउँपालिकामा अर्को विवाह गरेर बसेका रहेछन्। त्यो हामीलाई अहिले आएर थाहा भयो।’ उनका अनुसार मसलाको व्यापार गर्ने भन्दै डडेल्धुराबाट डोटी पसेको चक्रलाई दशक बढी भइसकेको थियो। 

डोटीमा जोशीको रुपी भट्टसंग भेट भयो। भट्टसंग माया बसेपछि उनले डोटीमै घरजम गरे। कान्छी श्रीमतीबाट तीन सन्तान पनि भए। आदर्श गाउँपालिकाको नुवाकोटमा ससुराली भएका उनी ससुरालीमै बसेर नजिकै रहेको काँडी स्याउलीमा चाउचाउ र मसलाको व्यापार गर्दै आएका थिए। 

प्रहरीले नेपालगञ्जबाट फर्किने क्रममा चिसापानी घुम्दा दुर्घटना भएको अनुमान गरेकोमा काँडी स्याउलीका स्थानीयका अनुसार जोशी गाडी फेर्नका लागि धनगढी आएका थिए। उनले धनगढीकै ज्ञानु प्लाजामा कोठा पनि लिएका छन्। परिवारसहित उनी चिसापानी घुम्न गएको बुझिएको छ।

टुक्राटुक्रा भएको छ दुर्घटनाग्रस्त जीप, जोशी दम्पतीको अवस्था अज्ञात
बेपत्ता भएका जोशी दम्पती अझै फेला परेका छैनन। बा ११ च ९३८ नम्बरको जोशीको जीप चिसापानीदेखि सोल्टा जाने सडक खण्डमा दुर्घटना हुँदा कर्णाली नदीमा खसेर उनीहरु बेपत्ता भएका थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले भने, ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले अबेर रातिसम्म खोजी गरेका थिए,’ उनले भने, ‘दुबै जना फेला नपरेपछि आज बिहानदेखि फेरि खोजी सुरु भएको छ।’ उनका अनुसार दुर्घटनाग्रस्त जीप भने कर्णाली नदीमा टुक्राटुक्रा भएको अवस्थामा भेटिएको छ।

‘सडकबाट झण्डै तीन सय मिटर तल नदीमा खसेको जीप टुक्राटुक्रा भएको छ। केही पार्ट निकालिएको छ। मुख्य पार्ट निकाल्न बाँकी छ,’ उनले भने। गाडीमा सवार जोशीकी १२ वर्षीया छोरी लक्ष्मी, ४ वर्षीया सावित्री र ३ वर्षीय भुवन जोशीको उद्दार गरिएको थियो। उनीहरुको अहिले कोहलपुरमा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस