सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतका शहरहरुमा आधुनिक बस सेवा सञ्चालन गर्न सके पर्यटन फस्टाउने

२०७५ कार्तिक ३०, ११:१५

भारतका विभिन्न शहरहरुमा नेपाल भारतमैत्री आधुनिक बस सेवा सञ्चालन गर्न सकेमा सुदुरपश्चिम प्रदेशको पर्यटन प्रवद्धन गर्न सकिने राम्रो सम्भावना देखिएको छ । सुदुरपश्चिम प्रदेशसँगै जोडिएका र नजिक रहेका ६ वटा भारतका प्रदेशमा सुविधा सम्पन्न बस सेवा सञ्चालन गर्न सकेमा भारतीय पर्यटकहरु तात्न सकिने बलियो सम्भावना देखिएको छ । तर यसमा संघीय र प्रदेश सरकारले चासो दिएका छैनन् ।  भारतका ६ प्रदेशको कुल जनसंख्याको १० प्रतिशतलाई ल्याउन सकेमा मात्रै पनि २७ लाख पर्यटक भित्र्याउन सुदुरपश्चिम प्रदेश भित्र्याउन सकिने देखिएको छ । भारतीय पर्यटकको तथ्यांक नराखिने अवस्थामा सन् २०२० मा नेपाल भ्रमण बर्ष गर्न गईरहेको नेपाल सरकारले भारतीय पर्यटकहरुलाई त्यो पनि सुदुरपश्चिमसम्म मात्रै ल्याउन सकेमा त्यो लक्ष्य सहज पुरा हुने देखिएको छ । नेपाल–भारत सिधा यातायात सञ्चालन गर्न सकेमा सुुदुरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन हुने देखिएको हो । भारतकै सवैभन्दा वढी जनसंख्या रहेको उत्तर प्रदेश, पञ्जाव, हरियाणा, दिल्ली र हिमाञ्चल प्रदेशमा सुविधा सम्पन्न बस सेवा सञ्चालन गर्न सकेमा त्यहाँका धेरै भारतीय पर्यटकहरुलाई सुदुरपश्चिम प्रदेश घुमाउन ल्याउन सकिने राम्रो सम्भावना छ । अहिले धनगढी–दिल्ली र महेन्द्रनगर–दिल्ली वस सेवा सञ्चालन भएको छ तर यसलाई विस्तार गर्दै यी ६ प्रदेशका विभिन्न ठुला शहरमा सञ्चालन गर्न सकेमा भारतीयहरुले भित्र्याउन सकिने देखिएको हो । यसका लागि भारतका विभिन्न प्रदेश सरकारसँग कुरा हुँदा उनीहरुले सहमति जनाए पनि सुदुरपश्चिम सरकारले भने चासो नदेखाएको व्यवसायीहरु बताउँछन् । सुदुरपश्चिम यातायात व्यवसायी संघका अध्यक्ष पदम सापकोटा त्यसकालागि पहल गरिरहेको भएपनि प्रदेश सरकारले सहयोग नगरेको वताउँछन् । 

नेपाल– भारत यातायात सम्झौता अन्तर्गत दुई देशबीच यात्रुवाहक सवारी आवागमन नियमन गर्न नेपाल–भारत सीमापार यातायात सुविधासम्बन्धी संयुक्त कार्यदलको बैठकले थप गरेको चार वस सेवामा सुदुरपश्चिम प्रदेशवाट महेन्द्रनगर– दिल्ली वस सेवा विस्तार भएको छ । धनगढी–दिल्ली बस सेवा सञ्चालन हुँदै आए पनि गौरीफन्टाको वाटोले केही समस्या गरेको अवस्था उत्तर प्रदेश सरकारले दुधुवाको सडक निर्माण गरिरहेकोले आवतजावत गर्न केही समयपछि सहज हुनेछ । तर नेपाल भारतमैत्री वस सञ्चालन गर्ने विषयमा प्रदेश सरकारले भने खासै चासो देखाएको छैन् । प्रदेश सरकारको यातायात हेर्ने जिम्मा पाएको भौतिक पुर्वाधार मन्त्रालयका सचिव ईन्द्रदेव भट्टले त्यसका वारेमा निति वनाईरहेको र पहल गरिरहेको दावी गर्छन् । नेपालबाट भारतका विभिन्न ठुला तथा व्यवसायिक शहरहरुमा सुविधा सम्पन्न वस सेवा सञ्चालन भएमा यसमा यसले दुवै देशको व्यापार र पर्यटन प्रवर्द्धनमा सहज आवागमनले सकारात्मक भूमिका खेल्ने भएपनि प्रदेश सरकारले भने खासै वास्ता गरेका छैनन् । सुदुरपश्चिम पर्यटनको हिसाबले सुन्दर र सम्भावनै सम्भावनाले भरिएको भनिदै आएपछि यसक्षेत्रको पर्यटन प्रवद्र्धनमा उद्योग पर्यटन वन तथा वातावरण पनि उदासिन देखिएको छ । प्राकृतिक र धार्मिक पर्यटन प्रवद्र्धन गर्नका लागि मात्रै ध्यान दिएर सोही अनुसारको योजना वनाउँदै अघि वढेमा यसले सुदुरपश्चिम क्षेत्रको छलाङ मार्नेमा कुनै दुविधा छैन । तर उद्योग पर्यटन वन तथा वातावरणका प्रवक्ता केशव पराजुली त्यस बारेमा खासै पहल नभएको स्वीकार गर्छन् । 

सुदुरपश्चिम प्रदेशसँग जोडिएका र नजिक रहेका उत्तर प्रदेशको जनसंख्या १९ करोड ९८ लाख उत्तराखण्डको जनसंख्या १ करोड ८६ हजार हरियाणाको जनसंख्या २ करोड ५३ लाख पञ्जावको जनसंख्या २ करोड ७७ लाख दिल्लीको जनसंख्या १ करोड ६८ लाख र हिमाञ्चल प्रदेशको जनसंख्या ६८ लाख ५६ हजार गरी झण्डै २७ करोड जनसंख्या रहेको छ । सन् २०११ को तथ्यांक अनुसारको यो जनसंख्याको १ प्रतिशत भारतीयलाई मात्रै सुदुरपश्चिम ल्याउन सकेमा २७ लाख भारतीय पर्यटकहरु भित्रिने देखिएका छन् । हाल दिल्ली– पोखरामा पनि नेपाल भारतमैत्री वस सेवा सञ्चालन गरिएपछि दिनमा दुई सयभन्दा वढी भारतीय पर्यटक वोकेका भारतीय वसहरु आईरहेकोले त्यो सुदुरविधा सुदुरपश्चिम प्रदेशमा पनि सञ्चालन गर्न सकेमा पर्यटन प्रवद्र्धन आफै हुने नेपाल पर्यटन वोर्डका निर्देशक मणि लामिछानेले बताए । सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्षको तयारी गर्दै २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ । नेपाल आउने भारतीय पर्यटकहरुको तथ्यांक राख्ने गरिएको छैन । तर अव उनीहरुलाई आवश्यक सेवा सुविधा थपेर तथ्यांक राख्ने व्यवस्था संघीय र प्रदेश सरकारले गर्नुपर्ने पर्यटनका जानकारहरु वताउँछन् । सुदुरपश्चिमको सरकारले नेपाल भारत वस मात्रै सञ्चालन गर्नमा आर्थिक रुपमा प्रदेश सक्षम हुनुका साथै रोजगारीको अवसर सिर्जना हुने नेपाल पर्यटन वोर्डका निर्देशक लामिछानेको भनाई छ । 

कमेन्ट लोड गर्नुस