सरकारी खर्चमा उपचार नगर्ने नेतामा शेरबहादुर देउवा
धनगढीः राज्यकोषबाट उपचार खर्च लिने सरकार प्रमुख र नेताको लामो सूची देखिएको छ। हुने खाने र ठूलाबडाले समेत राष्ट्रिय ढुकुटीबाट उपचार खर्च लिएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा भने अपवाद देखिएका छन्।
सरकारको रेकर्डमा देउवाले उपचार खर्चको नाममा अहिलेसम्म कुनै सुविधा लिएको देखिएको छैन। राष्ट्रिय ढुकुटीबाट विदेशमा उपचार गर्नेमा पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्रीदेखि प्रधानन्यायाधीशसम्मको लामै सूची छ। पूर्व राष्ट्रपति डा. रामवरण यादवले उपचार खर्च बापत एक करोड ४० लाख रुपैयाँ लिएका थिए।
उपचार खर्च बापत निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एक करोड २६ लाख रुपैयाँ लिएका छन्। सदाचारी नेताका रूपमा चिनिएका पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाले पनि एक करोड ८७ लाख रुपैयाँ लिएको देखिएको छ।
पूर्व उपराष्ट्रपति परमानन्द झाले राज्यकोषबाट नौ लाख ३० हजार उपचार खर्च लिएका छन्। यस्तै पूर्व प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले उपचार खर्च बापत ८० लाख रुपैयाँ लिएका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकालमा मन्त्रिपरिषदको उपाध्यक्ष रहेका डा. तुलसी गिरीले उपचार खर्च बापत २० लाख बुझेका छन्। पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पनि पाँच लाख रुपैयाँ लिएको देखिएको छ।
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले उपचारका लागि राज्यकोषबाट ५० लाख रुपैयाँ लिएकी छन्। माओवादी केन्द्रका नेता एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले ३८ लाख रुपैयाँ लिएका छन्।
कांग्रेस नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशीले २७ लाख ८० हजार रुपैयाँ लिएका छन्। कांग्रेसकै नेता एवं पूर्व मन्त्री खुमबहादुर खड्काले २० लाख रुपैयाँ लिएका छन् । जसपाका नेता पूर्व मन्त्री महेन्द्रराय यादवले १४ लाख रुपैयाँ बुझेका छन्।
प्रतिनिधि सभा र राष्ट्रिय सभाका दर्जनौं सांसदले पनि राज्य कोषबाट उपचार खर्च लिएका छन्। राज्य कोषबाट अपारदर्शी ढंगले उपचार खर्च लिएको भन्दै राजनीतिक दलका नेताहरूको विरोध हुँदै आएको छ।