सुदूर नेपाललाई विश्वसँग जोड्दै

साइपाल आरोहण : ६ हजार ८ सय मिटरको उचाईमा पुगेर फर्कियो टोली

२०७५ कार्तिक २६, ०४:२२ जनक विष्ट

मिसन साईपाल नाम दिएर बझाङको साइपाल हिमाल आरोहण गर्न गएको टोली फर्किएको छ। सात हजार ३१ मिटरको उचाईमा रहेको साइपाल हिमाल आरोहणका लागि गएको १२ जना विदेशी सहितको टोली हिमपात हुन थालेपछि साइपाल हिमालको चुचुरोमा नपुगेरै फर्किएको हो। मिसन साइपालका संयोजक भोजराज भाटका अनुसार हिमपात हुन थालेपछि हिमाल चढ्न समस्या हुँदा टोली फर्किएको हो।

दुईजना विदेशी र चारजना शेर्पाको टोली साइपाल हिमालको ६ हजार ८ सय मिटरको उचाइ सम्म पुगेपनि अभियान सुरु गरेकी बझाङकी चार छोरीहरु भने ५ हजार ६  सय मिटर उचाई सम्म पुगेर फर्किएका थिए। हाल सम्म कसैले पनि आरोहण नगरेको साइपाल हिमाल आरोहणका लागि पहिलोपटक साइपाल गाउँपालिकाकाकी लक्ष्मी बुढा, संगीता रोकाया, सुर्मा गाउँपालिकाकी पवित्रा बोहरा र तल्कोट गाउँपालिकाकी सरस्वती थापाले हिमाल चढ्ने साहस गरेका थिए।

उनीहरुले ७ हजार ३१ मिटर उचाईमा रहेको साइपाल हिमालको दक्षिणी मोहडाबाट कार्तिक १८ गते आरोहण सुरु गरेका थिए। उनीहरुलाई सहयोग गर्न ८ हजार मिटर भन्दा बढी उचाईका १४ वटै हिमाल चढेर विश्व रेर्कड कायम गरेका स्पेनिस नागरिक डा. जर्ज इगोचेएगा र आठ हजार मिटर भन्दा माथिकै सबै हिमाल चढिसकेकी संसारकी प्रथम महिला एडुर्ने पासावन लगायत १२ जना विदेशी आरोहीको टोली साइपाल बेसक्याम्प  पुगेको थियो।

बझाङकी चार छोरी पाँच हजार ६ सय मिटरको उचाईमा पुगेको तर १८ सय मिटरको रोप (डोरी) मार्फत आरोहण गर्न नसकेपछि फर्किएर उनीहरु बझाङ सदरमुकाम चैनपुर आइपुगेका छन्। हिमपातका कारण विदेशीको टोलीले लगाएको १८ सय मिटरको रोपमा बझाङकी छोरीहरु चढ्न नसकेको भाटले जानकारी दिए। विदेशी टोली भने आइनपुगेकाले चैनपुरमा उनीहरु कुरेर बसेको उनले बताए। 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस