सुदूर नेपाललाई विश्वसँग जोड्दै

नगर विकास समिति र उपमहानगरका कारण विकराल बन्दै धनगढीमा डुबानको समस्या

२०७८ साउन ६, ०४:५१ नारायण अवस्थी

धनगढी: धनगढीमा वर्षेनी डुवानको समस्या बढ्दै गएको छ। नगर विकास समिति र उप-महानगरपालिकाको कारण डुबान बढ्दै गएको दाबी गरिएको छ।

विगतमा नगर विकास समितिले धनगढीमा प्राकृतिक नाला, पानी बग्ने कुलो तथा ताल व्यक्तिको नाममा दर्ता गरेपछि बर्सातको पानी निकास नहुँदा डुवानको समस्या विकराल बन्दै गएको उपमहानगरवासी बताउँछन्। उप–महानगरपालिकाको वडा नम्बर २ मा रहेका प्राकृतिक नाला, कुलो तथा ताल कब्जा भएपछि पानीको प्राकृतिक बहाव थुनिदा डुवानको समस्या विकराल बन्दै गएको बताइएको छ। धनगढीमा नगर विकास समितिले खोला नाला, कुलो, ताल तथा पानी बग्ने क्षेत्रको जग्गाको पनि व्यक्तिलाई लालपुर्जासमेत दिएको छ। 

नगर विकास समितिले पानी बग्ने जग्गा नामसारी गरेको छ। जग्गामा घर लगायतका संरचना निर्माण गर्न उपमहानगरपालिकाले नक्सा पास गरिदिँदा धनगढी उपमहानगरपालिका विभिन्न टोल तथा बस्तीमा डुवानको समस्या बढ्दै गएको हो। पानी बग्ने नाला तथा क्षेत्र उपमहानगरपालिकाले खाली गर्न सके डुवानको समस्या हल हुनसक्ने उपमहानगरबासीको भनाइ छ।

धनगढी उपमहानगरपालिकाको १ देखि ५ नम्बर वडासम्म नगर विकासले ९ सय ३१ विघा जग्गा बिक्री गरेको छ। नगर विकासले हचुवाको भरमा जग्गा बिक्री गरेको कारण नगर क्षेत्र डुबानमा पर्न थालेको सर्वसाधारणको दाबी छ। 
बर्सातको पानी परेसँगै उपमहानगरको २ नम्बर वडामा पानी निकास हुन नसक्दा मालिका टोल, शिखर टोल, कृष्णनगर डुबानमा परेका छन्।

बर्सातकाे पानीको निकास नहुँदा त्यो वडामा डुबानमा परेका टोल तथा बस्तीका घरभित्रै पानी पसेको छ। घरभित्र पानी पस्दाको पीडा सुनाउँदै शिखरटोलका एक दम्पतीले दिनभर काम गरेर थकित भएर घर पुग्दा पानीको कारण राति घर आएर सुत्न सक्ने अवस्था नरहेको बताए। 

‘घरमा बुढी आमा छिन उहाँलाई कहाँ लगेर जाने, शौचालय समेत जान नसक्ने अवस्था आएको छ।’ दम्पती भने, ‘घरभित्र पानी पसेको छ, पानीको निकास बस्तीमा नहुँदा हरेक वर्ष बर्सातमा डुबानका कारण दुःख भोग्नु परेको छ।’
धनगढीमा नगर विकासले अहिलेसम्म ९ सय ३१ विघा ऐलानी पर्ती जग्गा नगरको १ नम्बरदेखि ५ नम्बर वडासम्म बिक्री गरेको छ। त्यसैरी जग्गा बिक्री गर्दा भविष्यको योजना तथा आउनसक्ने प्राकृतिक प्रकोप, पानी तथा ढलको निकास, सडक तथा पर्याप्त खुला ठाउँको विषयमा सोच्दै नसोची जग्गा बिक्री गरेको कारण अहिले डुवानको समस्या विकराल भएको नागरबासी बताउँछन्। 

२०४९ सालदेखि पटकपटक पानीको प्राकृतिक निकास बन्द हुने गरी नगर बिकासले जग्गा बिक्री गर्नु र त्यो जग्गामा नगरपालिकाले घर नक्सा पास गर्नुले डुवानको समस्या आएको स्थानीय धनपति ढुंगेलको भनाइ छ।
‘२०४९ सालमा धर्ना बसेर जोजो मान्छेले पुर्जा बाँडे, तिनले पानीको प्राकृतिक निकास बन्द गरेर पुर्जा बाँडे।’ उनले भने, ‘कमसेकम पनि पानीको प्राकृतिक निकास जो थियो, त्योलाई १० फिटको मात्रै पनि राखेको भए पानी निरन्तर बगिरहदा डुबानको भयावह अवस्था आउने थिएन।’

वडा नम्बर २ का स्थानीयले बस्तीमा भएका नाला थुनिएपछि शिखर टोल, मालिका टोल कृष्णनगर लगायत अन्य टोलहरु डुवानमा परेको बताएका छन्। वडा नम्बर २ मा आउने पानी बिगतमा बिभिन्न नाला हुँदै तिल्के तालमा जाने तथा त्यहाँबाट मोहना नदीमा जाने भएपनि अहिले पानीको बाटोमा घर निर्माण गरिएको कारण वडा नम्बर २ मा डुबानको उच्च जोखिममा रहेको बताइएको छ।

धनपति ढुंगेलले वडा नम्बर २ को शिखरमा आउने सबै पानी बिगतमा तिल्के तालमा झर्ने गरेको बताएका छन्। उनले भने, ‘तिल्के तालबाट ओभरफ्लो भएकोे पानी मोहनामा झर्ने हो, तर अहिले तिल्के तालसम्म पानी पुग्ने ठाउँमा घर बनेका छन्, खेत बनेका छन्, पानीको प्राकृतिक बहाव बन्द भएकोले बस्तीहरु डुबानमा परेका हुन्।’ ढुंगेलले थपे, ‘उपमहानगरपालिकाले दरो निर्णय लियो भने अहिले देखिएको समस्या समाधान हुन्छ।’
विगतमा नगर विकास समितिले हचुवाको भरमा जग्गाको लालपुर्जा वितरण गर्दा अहिले धनगढीमा डुबानको समस्या बिकराल भएको छ।

वडा नम्बर २ मा नगरपालिकाले निर्माण गरेको सडकले गर्दा पनि शिखर टोलमा डुबान भएको स्थानीयको गुनासो छ। वडाको कृष्णनगर– शिखर टोल सडकमा कुनै पनि ठाउँमा पानी बग्ने निकास बनाइएको छैन। जसका कारण शिखर टोलका घरहरुमा पानी पसेको दाबी स्थानीयको छ। तर वडा नम्बर २ का अध्यक्ष नरबहादुर बमले भने बुधबार नै पानीका निकासहरु डोजर लगाएर खोल्ने बताएका छन्।

‘आज दुईटा जेसिबी र मजदुर लिएर पानी बग्ने ठाउँ खोल्छौँ। उनले भने, ‘मेयर साब आएपछि थप छलफल गरेर डुबानको समस्या समाधान गरिने छ, आज भने उपमेयर सहितको उपस्थितिमा शिखर टोल सडकबाट पानी बग्ने निकास निकाल्ने छु।’

धनगढीमा नगर विकासले शहरी विकासको मर्म विपरीत जग्गाको भोगाधिकार हस्तान्तरण गर्न चलखेल गरेको समेत आरोप लाग्ने गरेको छ। सुन्दर शहर बनाउन भू–उपयोगको योजना बनाएर जग्गाको भोगाधिकार हस्तान्तरण गरेको भए अहिले नगरका तालहरु पुरिने थिएनन्, खोलानाला साँघुरा हुने थिएनन्, सबै बस्ती तथा टोलमा खुला ठाउँ तथा हरियाली पार्क निर्माण गरेर नगरलाई सिगार्न सकिन्थ्यो तर नगर बिकासले पानीको प्राकृतिक बहाब नै थुन्ने गरी जग्गा दर्ता गर्नु र नगरपालिकाले नक्सा पास गर्नाले धनगढीमा डुबानसँगै अन्य समस्या पनि बढ्दो क्रममा रहेका छन्। 

तर, धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले भने खोलानाला तथा ताल क्षेत्रको लालपुर्जा बदर गर्ने तथा अतिक्रमण हटाउन असोजमा देखिनेगरी काम गर्ने बताउँदै आएका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस