सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका पम्पमा पाउदैन पेट्रोल, बोतलमा जताततै

२०७८ साउन ४, ०३:०३ नारायण अवस्थी

धनगढी : धनगढीका सुरथ चन्द पेट्रोलको लागि ३/४ दिनदेखि नै आधा दर्जन पेट्रोल पम्पमा धाइरहेका छन्। तर कुनै पनि पम्पमा पेट्रोल नपाएपछि उनी धनगढी बजारमा महंगो मूल्यमा पेट्रोल खरिद गर्न बाध्य छन्।

‘डिजेलको अभाव छैन्। पेट्रोलको अभावले गर्दा दैनिक काममा जान समस्या हुँदै आएको छ। पम्पमा नपाएपछि बाध्य भएर महंगोमा बोलतमा बिक्री गर्न राखिएको पेट्रोल खरिद गर्न परेको छ,’ चन्दले भने।

पेट्रोल पम्पमा घुम्टो लागेको बताउँदै उनले बजारका अन्य पसलमा भने जताततै पेट्रोल पाइरहेको बताए। उनले भने, ‘पेट्रोलको मूल्य १ सय २६ छ। तर बोतलमा भने एक लिटरको एक सय ४० देखि एक सय ६० सम्म बिक्री भइरहेको छ।’ पेट्रोलकै खोजीमा पम्प धाइरहेका  सन्तोष विष्टको गुनासो पनि फरक छैन्। ‘पम्प सञ्चालकले बढी फाइदाका लागि बोतलमा बिक्री गर्नेलाई तेल दिने गरेका छन्,’ उनले भने, ‘तर सवारी धनीले पेट्रोल खोज्दा सधै पम्प बन्द हुने गरेको छ।’

धनगढीमा पछिल्लो समय पम्पमा पेट्रोल नहुने र बजारका अन्य पसलमा जताततै पाउने समस्या बढेको हो। पेट्रोल पम्प आसपासका किराना, तरकारी, फलफूल, नास्ता पसल, सिलाई पसल लगायतमा पनि बोतलमा पेट्रोल सहजै पाउन सकिन्छ।

यता पेट्रोलियम डिलर्स एसोसियसनका प्रतिनिधि अनिल बलम्पाकी मगरले पेट्रोल पम्पहरुको तेल भण्डारणको क्षमता नै कम भएको कारण आयल निगमबाट नै पेट्रोल कम पाउँदा तेलको अभाव हुने गरेको दाबी गरेका छन्। 

तर यो पटक भने नयाँ सफ्टवेयरको कारण तीन दिनदेखि आयल निगमले तेल दिन नसक्दा बजारमा तेलको अभाव भएको उनको भनाइ छ। तर पम्प बाहेक पेट्रोल अन्यत्र कसरी पाउँछ ? भन्ने प्रश्नमा उनले भने, ‘खुला बिक्री वितरण भने गर्न पाइदैन्।

तर बजारमा तेल अभाव हुनुमा पम्पहरुको भण्डारण क्षमता पनि एक कारण हो। पम्पमा पेट्रोल सधैं अभाव त हुन्न तर यो पटक उपभोक्ताले तेल पाउन नसकेका हुन्। आज बजारमा पेट्रोल पठाइएको छ।’

यता आयल निगम प्रदेश कार्यालय धनगढीले भने सोमबारबाटै बजारमा पेट्रोलको माग अनुसारको आपूर्ति हुने बताएको छ। निगमले साउन १ गतेदेखि लागू गरिएको सफ्टवेयरको कारण पेट्रोलको बिक्री वितरण हुन नसक्दा बजारमा तेलको अभाव भएको निगमका प्रदेश कार्यालय प्रमुख रामकुमार न्यौपाने बताए।

‘नयाँ सफ्टवेयरको कारण पेट्रोलियम पदार्थको बितरणमा समस्या आएको थियो,’ उनले भने, ‘आजबाट त्यो समस्या पनि हटेको छ। बजारमा आज ४० हजार लिटर तेल गइसकेको छ। अब समस्या हुँदैन होला।’ पेट्रोल पम्पबाहेक अन्यत्र भने पेट्रोलियम पदार्थको बिक्री गर्नु गैरकानुनी रहेको उनले बताए। उनले भने, खुला रुपमा पेट्रोल बेच्न पाइदैन, यदि कसैले बिक्री गरेको भेटिएमा कारबाही गर्छौ। 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस