सुदूर नेपाललाई विश्वसँग जोड्दै

विकासको कछुवा गतिः तीन दशकसम्म पनि बनेन् गोकुलेश्वर खार–दल्लेख हुंँदै सदरमुकाम खलंगा जोड्ने सडक

गोकुलेश्वरदेखि खार–दल्लेख हुंँदै सदरमुकाम खलंगा जोड्ने सडक, तस्वीरः नरेन्द्र कार्की, दार्चुला
गोकुलेश्वरदेखि खार–दल्लेख हुंँदै सदरमुकाम खलंगा जोड्ने सडक, तस्वीरः नरेन्द्र कार्की, दार्चुला
२०७४ चैत्र १९, ११:३१

दार्चुलाको विकासका लागि महत्वपूर्ण मानिएको गोकुलेश्वरदेखि खार–दल्लेख हुंँदै सदरमुकाम खलंगा जोड्ने सडक निर्माण सुरु भएको ३१ वर्षसम्म पनि पूरा भएको छैन । ०४२ सालमा निर्माण सुरु भएको ४४ किलोमिटर लामो उक्त सडक निर्माणमा अहिलेसम्म करोडौं रकम खर्च भइसकेको छ । तत्कालीन जिल्ला पञ्चायत, ०४६ पछि जिल्ला विकास समिति, गाउँ विकास समितिदेखि विभिन्न निकायको ठूलो बजेट खर्च भएको गोकुलेश्वर–दल्लेख खलंगा सडक तीन दशक बितिसक्दा पनि निर्माण हुन नसकेको हो ।

तीन दशकअघि हवाई सेवा सञ्चालनमा रहेको गोकुलेश्वरदेखि सदरमुकाम जोड्न छोटो दूरीको उक्त सडक निर्माण कार्य सुरु भएको थियो। चार वर्षअघि मात्र ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन कार्यक्रम (डिलिप) ले उक्त सडक निर्माणमा ठूलो लागनी गरेको थियो। ‘सडक निर्माणका लागि यसरी लगानी भएको यो पहिलोपटक होइन,’ दल्लेखका स्थानीय हर्क धामीले भने, ‘यसअघि पनि पटकपटक विभिन्न निकायको बजेट खर्च भए पनि सडक भने निर्माण हुन सकेको थिएन।’

सडकको ट्र्याक मात्र खोल्ने काम गरेको उक्त कार्यक्रमले पनि गर्नुपर्ने काम गर्न नसकेको स्थानीयहरूको गुनासो छ। उक्त सडक निर्माण सम्पन्न हुने हो भने जिल्लाको झन्डै आधा भूभागको विकासमा महत्वपूर्ण योगदान पुग्ने छ। दार्चुलामा निर्माण सुरु भएको यो सडक उदाहरण मात्र हो। जिल्लामा पञ्चायत कालदेखि र प्रजातन्त्र आएपछि यसरी निर्माण सुरु भएको दुई दर्जन सडकको स्थिति उस्तै छ। जिल्लाका ग्रामीण क्षेत्रलाई जोड्ने उद्देश्यले सुरु भएका दुई दर्जन सडकमध्ये अधिकांश सडक ०४६ पछि सुरु भएका हुन।

विगतमा स्थानीय निकायले कनिका छरेजस्तै बजेट विनियोजन गरेका सडकहरूलाई स्थानीय सरकारले पनि प्राथमिकतामा राखेको छ। जिल्लालाई सडक सञ्जालमा जोड्न साविकको जिविसले १८ वटा सडक प्रस्ताव गरेको थियो। अढाई किलोमिटरदेखि ६२ किलोमिटरसम्म लम्बाई भएका १८ ओटा सडक निर्माण सुरु गरे पनि हालसम्म अधिकांश सडक नाम मात्रका छन् लाली–खरकडा–सर्माेली सडक, शंकरपुर–हुनैनाथ डाँडाकोट–लाली सडक, ऐरिछाना–रिठाचौपता–सर्मोली सडक, गोकुलेश्वर–रिठाचौपता सडक, गोकुलेश्वर–बोहरीगाउँ–पनेबाज सडक साविकको जिविसले प्रस्ताव गरेका सडक हुन्।

यस्तै, धाप–निसिल–ग्वानी सडक, देथला–रानीशिखर–ग्वानी सडक, बंगाबगड–वीरेन्द्रवन–गल्फै सडक, खलंगा–देथला सडक, शिखर–बलाच–देथला सडक, डुङरी–छापरी–ब्रह्मदेव–धारी सडक, होपरी–सिप्टी–शेरी–तपोवन सडक पनि साविकको जिल्ला विकास समितिले निर्माण सुरु गरेका सडक हुन्।

 

कमेन्ट लोड गर्नुस