बैतडीको पाटन नगरपालिकाले भन्यो, ‘मुर्रा भैंसी सहकारीले किनेर वितरण गरेको हो’
भैंसी वितरणको कार्यक्रम विवादित
बैतडी: बैतडीमा भैंसी वितरणको कार्यक्रम विवादित बनेको छ। पाटन नगरपालिकाभित्रका किसानहरुलाई मुर्रा जातका भैंसी वितरण गरिएको कार्यक्रममा विवादमा तानिएको हो। नगरपालिकाले किसानलाई संघ र प्रदेश सरकारसंगको साँझेदारीमा उन्नत जातको भैंसी वितरण गर्ने भनेका थियो। उक्त कार्यक्रममा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको २२ लाख र नगरपालिकामा संघीय सरकारको सशर्त अनुदानको २१ लाख रुपैया गरेर ४३ लाख बजेट थियो।
सामाजिक सन्जालमा पाटन नगरपालिकाले उन्नत जातका भन्दै दुब्ला भैंसीहरु ल्याएर वितरण गरेको भन्दै चर्को आलोचना भएको थियो। यस्तै नगरको उक्त कार्यक्रममा आर्थिक अनियमितता भएको समेत बताईएको थियो।
तर, नगरपालिकाले भने त्यो आत्मबिश्वास कृषि सहकारी संस्था मातहतको कार्यक्रम भएको स्पष्ट पारेको छ। नगरले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भैसी खरिद तथा वितरणको जिम्मा आत्मविकास बहुउद्देश्यीय सहकारी संस्थालाई दिईएको हो। नगरपालिकाले सम्झौता गरेर सहकारीलाई जिम्मा दिएको हो। सोही सहकारी संस्थासंग सम्झौता गरेको हो। नगरपालिकाले नभई सहकारी संस्थाले खरीद गरेर भैंसी वितरण गर्दैछ।’
संघीय सरकारले मध्यपहाडी लोकमार्ग दुग्ध उत्पादन (भैंसीपालन) कार्यक्रम अन्तर्गत नगरपालिकामा गत बर्ष सशर्त अनुदान उपलब्ध गराएको बताईएको छ। प्रदेश र संघ सरकारको साझेदारीमा ५० ओटा भैंसी र २ रांगो खरीद गर्नका लागि सहकारी संस्थासंग सम्झौता भएको बुझिएको छ। यसमा भैंसी र रांगो किन्नका लागि ३७ लाख रुपैया छुट्याएको छ।
किसानहरुलाई वितरण गरिएका भैंसी स्वस्थ नभएका, दुब्ला पाडीहरु वितरण गरिएको भन्दै यसको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। यता भैंसी खरीद गरेर वितरण गरेको आत्मविकास बहुउद्देश्यीय सहकारी संस्थाले भने भारतको हरियाणाबाट उन्नत जातको भैंसी खरीद गरेको बताएको छ। भैंसी वितरणका सम्बन्धमा नगरपालिकाले अहिले पनि भुक्तानी गरिनसकेको र सर्वपक्षीय अनुगमन पछि मात्रै भुक्तानी दिने जनाएको छ।