तराई र गर्मी ठाउँका रोगहरु पहाडी र हिमाली क्षेत्रमा
जलवायु परिवर्तनका कारण तराई र गर्मी ठाउँमा मात्रै समस्या बनेका थुपै रोग पहाडी र हिमाली क्षेत्रमा पनि देखिन थालेका छन् । तराई र गर्मी क्षेत्रमा हुने पानीजन्य, कीटजन्य, वायुजन्य रोगहरु बढ्दै गएको प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए । तराई र गर्मी ठाउँका रोगहरु पहाडी र हिमाली क्षेत्रमा पनि देखिन थालेका छन् । कालाजार, औलो लगायतका विरामीहरु चिसो ठाउँमा समेत वढ्दै गएका छन् ।
प्रत्यक्ष रुपमा लामखुट्टे, भुसुना जस्ता कीटको टोकाइबाट सर्ने रोगहरु उच्च हिमाली र पहाडी क्षेत्रमा देखापर्न थालेका छन्। केही वर्ष अघिसम्म कैलाली र कञ्चनपुर लगायत जिल्लामा बढी जोखिम रहेको जापानिज इन्सेफ्लाइटिस र हात्तीपाइलेका औलोका बिरामी पनि हिामाली र पहाडी जिल्लामा देखिन थालेको जिल्ला अस्पताल बाजुराका डाक्टर रुपचन्द्र विकले बताए ।एक अध्ययनका अनुसार लामखुट्टेजस्ता कीटहरु तल तराईमा तापक्रम बढेर टिक्नै नसक्ने वा मर्ने अवस्था हुन थालेको छ । पहिला तराईमा मात्र पाइने लामखुट्टे जस्ता कीट अहिले २ हजार फिटभन्दा माथि गएर बस्न थालिसकेका छन् । जलवायु परिवर्तनको असरका साथै मानिसहरुको आवतजावत वढेसँगै तराईका रोगहरु पहाडी र हिमाली क्षेत्रमा देखिन थालेको उपक्षेत्रीय अस्पताल डडेल्धुराका मेसु डाक्टर जितेन्द्र कँडेलले जानकारी दिए ।
केही दशक अघिसम्म तराईमा औलो लाग्ने डरले पहाड र हिमालका बासिन्दा गर्मी महीनामा तराई झर्न डराउँथे । काम भएर बस्नै पर्ने पनि गर्मी लागेपछि पहाडतिर उक्लन्थे । हिमाल र पहाडमा लामुखुट्टे भेटिन्नथ्यो, औलोको डर पनि थिएन । तर अहिले अवस्था फेरिएको छ । जलवायु परिवर्तनका कारण कालाजार, औलो लगायतका विरामीहरु चिसो ठाउँमा समेत वढ्दै गएको महामारी रोग नियन्त्रण महाशाखका निर्देशक डाक्टर विवेक कुमार लालले बताए ।