सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ११ महिनामा १ अर्ब १९ करोडको चामल भारतबाट आयात

२०७८ असार १५, १२:१३ खबर संवाददाता

धनगढी :  कैलालीमा हरेक वर्ष चामल आयातमा वृद्धि भइरहेको छ। चालु आर्थिक वर्षमा विगतको तुलनामा चामल आयात ह्वात्तै बढेको छ। गत आर्थिक वर्ष २०७६/०७७ को तुलनामा कैलाली भन्सार कार्यालयबाट चालू आर्थिक वर्ष २०७७/०७८ मा चामल आयात ३८ प्रतिशतले वद्धि भएको छ।

कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत फणिन्द्र खतिवडाका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म १ अर्ब १९ करोड ५३ लाख १४ हजार १२७ मूल्य बराबरको दुई करोड ७० लाख ५५ हजार ४९९ क्विण्टल चामल आयात भएको छ। १४ करोड २२ लाख ५९ हजार बढि राजश्व संकलन भएको खतिवडाले बताए। 

गत आर्थिक वर्ष २०७६/०७७ मा एक करोड तीन लाख ३५ हजार २७७ क्विण्टल र आर्थिक वर्ष २०७५/७६ मा दुई करोड ५१ लाख २० हजार ७८० क्विण्टल चामल आयात भएको थियो। यस्तै आर्थिक वर्ष २०७१/७२ मा ६९ करोड ३१ लाख ७९ हजार, आर्थिक वर्ष २०७२/७३ मा मात्रै ७८ करोड ७ लाख, आर्थिक वर्ष २०७३्/७४ मा ८१ करोड ७४ करोडको चामल कैलाली भन्सार भएर आयात भएको थियो ।

हरेक वर्षझैँ यस वर्ष पनि धान दिवसलाई भव्यताका साथ मनाइरहेका बेला चामलको आयातले भने बढ्दै गएको छ। कैलाली र कञ्चनपुरलाई धान उत्पादनको भण्डारणका रूपमा हेरिए पनि भारतमाथिको परनिर्भरता अझै हट्न सकेको छैन। भारतबाट कैलाली आयात भएको चामल सुदूरपश्चिमका अन्य जिल्लामा पनि बिक्री हुने गरेको छ । 

भारतीय आयात बर्सेनि बढिरहँदा पनि सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमै उत्पादन बढाउन पहल गर्न नसकेको जनगुनासो छ। तर, सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले भने उत्पादन बढाएर भारतीय आयात घटाउने योजना रहेको बताए। ‘हाम्रो क्षेत्रमा मोटो धान खेती हुँदै आएको छ,’ उनले भने, ‘तर यहाँ मसिनो र मध्यम मसिनो चामलको माग बढि छ। त्यसैले भारतबाट हुने आयात पनि बढिरहेको छ। तर मसिनो तथा बास्नादार धानखेती विस्तार कार्यक्रममार्फत आयात घटाउने योजना छ।’

कमेन्ट लोड गर्नुस