ब्राहमण एकता बैतडी नामक फेसबुकबाट नेताहरुको चरित्र हत्या गरिएको भन्दै कांग्रेसको आपत्ति
बैतडी: केही दिन यता ब्राहमण एकता बैतडी नामक फेसबुक आइडी खोलेर नेपाली कांग्रेसका नेताहरुको चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै नेपाली कांग्रेस बैतडीले आपत्ति जनाएको छ।
सोमबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस बैतडीले सामाजिक सद्भाव बिगार्नेबाट सजक रहन आग्रह गरेको छ। फेसबुक आइडी खोलेर नेताहरुको चरित्र हत्या गर्ने दुष्प्रयास भएको र त्यस्ता तत्वबाट सजक रहन आग्रह गर्दै कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सभापति नरेन्द्रसिंह थापाद्वारा हस्ताक्षरित विज्ञप्तीमा नेपाली कांग्रेसको आसन्न महाधिवेशनलाई प्रभावित तुल्याउने हिसाबले यस्तो कार्य गरिएको ठहर गरिएको छ। यस्तो कार्यमा संलग्न जो कोही भएपनि कानुन अनुसार कारवाही गर्न कांग्रेसले माग गरेको छ।
कांग्रेसका नेताहरुको नाम जोडी ब्राहमण एकता बैतडी फेक आइडी बनाउनेलाई कारवाहीको माग गर्दै साइबर ब्यूरोमा मुद्दा दर्ता भएको छ। नेपाली कांग्रेसका नेता जनकराज भट्टले दोषीलाई कारवाहीको माग गर्दै ब्यूरोमा मुद्दा दर्ता गरेका हुन्।