सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित

२०७८ असार ५, ०५:३० रासस

काठमाडौं: नेपालमा थप दुई हजार ४०० जना कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमित भेटिएका छन्। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार १० जनाको पिसिआर तथा चार हजार ६८६ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः एक हजार ६८८ र ७१३ जनामा कोरोना सङ्क्रमण पुस्टि भएको हो।योसँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या पिसिआर पोजेटिभ ६ लाख १९ हजार ६३५ र एन्टिजेन पोजेटिभ २५ हजार ५७४ पुगेको छ। 

हालसम्म ३२ लाख ६२ हजार ५८९ को पिसिआर र एक लाख ३८ हजार ३१३ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको मन्त्रालयले जनाएको छ।पछिल्लो २४ घण्टामा तीन हजार ६६० जना उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना जितेर घर फर्किनेको सङ्ख्या पाँच लाख ५३ हजार ३४२ पुगेको छ। 

कारोना निको भएको दर ८९ दशमलव ३ प्रतिशत रहेको छ। यस्तै गत २४ घण्टामा थप ३४ जनाको मृत्यु भएसँगै कुल मृतकको सङ्ख्या आठ हजार ६५७ पुगेको छ। मन्त्रालयले उपलब्ध गराएको विवरणमा हालसम्म २५ लाख १९६ ले कोरोनाविरुद्धको पहिलो मात्राको खोप लगाएका छन्। दोस्रो मात्रा खोप लगाउनेको सङ्ख्या सात लाख ३१ हजार ६५३ पुगेको छ।

कमेन्ट लोड गर्नुस