सुदूर नेपाललाई विश्वसँग जोड्दै

निषेधाज्ञा अवधिको बैंक ब्याज मिनाहा गर्न सुदूरपश्चिमका उद्योगीको माग

२०७८ जेठ ३१, ०६:५९ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः नेपाल राष्ट्र बैंकले कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी दोस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। जसअनुसार कोरोना भाइरस रोकथामका लागि बैशाख १६ गतेदेखि जारी निषेधाज्ञाकै कारण ६१ प्रतिशत व्यापार व्यवसाय बन्द भएको सर्वेक्षणले देखाएको छ। 

लकडाउन पश्चात औषतमा ६१ दशमलव शून्य ३ प्रतिशत उद्योग व्यवसायहरु सञ्चालन हुन नसकेको र जम्मा ४ दशमलव १ प्रतिशत उद्योग/व्यवसायहरु मात्र पूर्ण रुपमा सञ्चालनमा रहेको सर्वेक्षणले देखाएको हो। 

सुदूरपश्चिम प्रदेशभित्र पनि तङ्ग्रिँदै गरेको उद्योग व्यवसाय कोरोना भाइरसको दोस्रो लहरका कारण पुनः प्रभावित बन्न पुगेको पाइएको छ।

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाले बैंकबाट ऋण लिएर व्यवसाय सुरु गरेका साना व्यवसाय सबैभन्दा बढी मारमा परेका छन्। लामो समयको निषेधाज्ञाले कर र बैंकबाट लिएको ऋणको व्याज बुझाउन समेत निकै समस्या निजी क्षेत्रको गुनासो छ।

अधिकांश उद्योग व्यवसाय बन्द भएपछि बैंकबाट ऋण लिएर व्यवसाय गर्दै आएका उद्योगी व्यवसायीले निषेधाज्ञा अवधिभरको कर र बैंक ब्याज मिनाहा गर्न माग गरेका छन्। निषेधाज्ञाले उद्योग व्यवसाय चौपट भएको कैलाली उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष एवं उद्योगपति राजेन्द्र अग्रवालले बताए। ‘गत वर्ष तीन महिना लामो लकडाउन र हाल जारी निषेधाज्ञाले उत्पादित बस्तु पहाडी जिल्ला पठाउन समस्या भइरहेको छ’ उनले भने। 

त्यस्तै वर्षात सुरु भइरसकेको अवस्थामा पहाडी जिल्लामा सडक अवरुद्ध हुने भएकाले उद्योगी व्यापारी दोहोरो मारमा परेको उनको गुनासो छ। यस्तो कठिन अवस्थामा राज्यले करमा र बैंक ब्याज मिनाहा गरिदिनुपर्ने माग समेत अग्रवालले गरे।

राष्ट्र बैंकले पछिल्लो वस्तुस्थितिबारे २०७७ असार र मंसिरको सर्वेक्षणमा सहभागी व्यवसायीहरुबाट पुनः तथ्यांक संकलन गरी तुलनात्मक अध्ययन गर्न २०७८ वैशाख ५ देखि १४ गतेसम्म दोस्रो पुनरावृत्ति सर्वेक्षण गरेको थियो। 

जसअनुसार कैलाली कञ्चनपुरसहित ५२ जिल्लाका ६७४ उद्योगी व्यवसायीबाट तथ्यांक संकलन गरेर सार्वजिनक गरिएको प्रतिवेदनमा ६१ दशमलव शून्य ३ प्रतिशत उद्योग व्यवसाय बन्द रहेको देखाइएको छ। सोही कारण सुदूरपश्चिमका उद्योगी व्यवसायीहरुले निजी क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन कर छुट र बैंक ब्याज मिनाहा गर्नुपर्ने माग गरेका छन्। 

तुलनात्मक रुपमा उद्योग विकासमा पछाडी परेको सुदूरपश्चिममा लामो समयको निषेधाज्ञाले साना उद्योग नै प्रभावित बन्न पुगेको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले बताए। उनले यस्तो अवस्थामा कर र बैंक ब्याज मात्रै मिनाह गरिदिए ठुलै राहत पुग्ने बताएका छन्।

 राष्ट्र बैंकको सर्वेक्षणले २०७७ असारको तुलनामा २०७८ वैशाखमा उद्योग व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यवसायिक कारोबारमा उल्लेख्य सुधार आएको देखाएको छ। 

गत असारको तुलनामा उद्योग व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा समेत उल्लेख्य सुधार आएको भएपनि २०७६ फागुन अर्थात कोरोना भाइरस पूर्वको अवस्थामा उद्योग व्यवसायहरु फर्किन नसकेको देखाएको छ। 

निषेधाज्ञा यसैगरी बढ्दै जाने हो भने सानो लगानीमा खुलेका उद्योग व्यवसाय भने माथि उठ्नै कठिन हुने बताउँदै वरिष्ठ उद्योपति अग्रवालले उद्योगमा कार्यरत कामदार जोगाउनै समस्या हुने बताएका छन्।
 

कमेन्ट लोड गर्नुस