सुदूर नेपाललाई विश्वसँग जोड्दै

डुंगा दुर्घटनामा बेपत्ता दुई जनामध्ये एकको शव फेला

२०७५ कार्तिक ४, ०२:५६ खबर संवाददाता

कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएका दुई जनामध्ये एकको शव भेटिएको छ। २३ वर्षका पुरुषोत्तम चौधरीको शव टीकापुर नगरपालिका–८ सत्तीघाट नजिकै भेटिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । चौधरी स्थानीय बोर्डिङ स्कुलका शिक्षक रहेको प्रहरीले बताएको छ। 
प्रहरीले नदीमा अड्किएको शव झिकेर आफन्तको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय चिसापानीका इञ्चार्ज प्रहरी निरिक्षक दिपेन्द्रबहादुर केसीले जानकारी दिए। उनका अनुसार चौधरीसँगै बेपत्ता भएका २२ वर्षका समिर बडैलाको भने अझै खोजी भइरहेको छ।

उनीहरू असोज २९ गते मोहन्याल गाउँपालिका–७ पितमारी स्थित कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएका थिए । सोही डुंगामा रहेका २ जना उनीहरूकै साथी र एक जना डुंगा चालकलाई भने प्रहरीले उद्दार गरेको थियो। जोशीपुर गाउँपालिकाका चारै जना मोटरसाइकलमा पिकनिक मनाउन पितमारी पुगेका थिए। पिकनिक मनाउने क्रममा उनीहरू चारैजना माछा मार्न प्रयोग हुने काठको सानो डुंगामा चढेको प्रहरीले जानकारी दिएको छ। सो ठाउँमा हरेक वर्ष पिकनिक गएकाहरू नदीमा पौडिने क्रममा बेपत्ता हुने गरेका छन्। प्रहरीले नदीमा पौडिन रोक लगाएको भएपनि कतिपयले अटेर गर्दै आएका छन।

कमेन्ट लोड गर्नुस