‘पानी बोकेरै कपाल फुल्यो’
बझाङ: काँडाचौरका प्रायः घरका एकजनाको काम दिनभर पानी ओसार्ने मात्रै रहेको छ।
गाउँमा खानेपानी नहुँदा १५० घरपरिवारले चरम समस्या झेल्दै आएका छन्।
स्थानीयवासी न्युमा धामी उमेरले ६० वर्ष पुगिन्। उनले पानी बोक्दाका व्यथा भनिन्, “कपाल पूरै फुलिसक्यो । यहाँ विवाह गरेर आएदेखि पानी बोक्न एकदिन खाली छैन। पानी बोक्दा बोक्दै बूढी भइसकेँ। दुई घण्टा हिँडेर पानी बोक्नुपर्छ।
गोठमा गाईगोरु कराउँदैछन्। गाउँमा झगडा नभएको दिन छैन्।
गाउँको धारामा अलिअलि पानी आउँछ। त्यही भर्नका लागि लुछाचुँडी हुने गर्छ। पानीले दाजुभाइहरुसँग बोलचाल नै बन्द भएको छ।”
त्यस्तै जसुली धामीले पानीको चिन्ताले रातभर निन्द्रा नलाग्ने बताइन्। उनले भनिन्, “पानीका चिन्ताले रातभर निन्द्रा नै लाग्दैन। पानी नभएकै कारण कतिपय दिन भोकै समेत बस्ने गरेका छाँै। ठूलो परिवार भयो। पानी धेरै चाहिन्छ।
दिनानुदिन एकजनालाई त पानीकै जिम्मा दिएर पानी मात्रै बोक्ने काम लगाउनु पर्छ। धेरै वर्षअगाडि गाउँमा घरधुरी कम थिए।
पछिल्लो समय घर बढेसँगै वनजङ्गल पनि मासिँदै गएको र पानीको पनि मुहानहरु सुक्दै गएकाले पानी अभाव भएको छ।
केही वर्षअगाडि गाउँमा धारा बनाउने भनेर सामान बोकेर हामीले गाउँसम्म ल्यायौँ। सामान बोकेको न त ज्याला पायौँ, न त धारा नै बन्यो।”
काँडाचौर मात्र नभएर वडा नं ७ को भामचौरमा पनि उस्तै समस्या रहेको स्थानीयवासी धनबहादुर धामीले जानकारी दिए।
पानी नभएका कारण कतिपय मानिसले बसाइँसराइ समेत गरेका छन्।
ती दुई गाउँमा खानेपानीको समस्या अन्त्य गर्न प्रदेश र गाउँपालिकाले रकम छुट्याइएको केदारस्यु गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारीले जानकारी दिए।