कालङ्गा हाईड्रोका १ सय ५४ अक्सिजन ग्याँसका सिलिन्डर स्वास्थ्य कार्यालय बझाङलाई हस्तान्तरण
तरुणा जोशी, बझाङः कालङ्गा हाईड्रोका १ सय ५४ अक्सिजन ग्याँसका सिलिन्डरहरु जिल्ला स्वास्थ्य कार्यालय बझाङलाई हस्तान्तरण गरिएको छ।
जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट समेत जडान हुनेभएकाले अक्सिजन सिलिन्डरको अभाब हुने देखिएकाले सिलिन्डर जम्मा गरिएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए।
अक्सिजन सिलिन्डरको अभाव रहेका बेला बझाङ जिल्लामा भने अक्सिजन सिलिन्डरको अभाब अब नहुने उनले बताए। आवस्यक मात्रामा अक्सिजन सिलिन्डर र २/३ दिन भित्र जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम हुने भएकाले अक्सिजन ग्याँसको अभाव नहुने उनको दाबी छ। प्लान्टबाट उत्पादन भएको अक्सिजन ग्याँसका लागि आवस्यक सिलिन्डरको समेत जोहो गरिएको जिल्ला प्रशासन कार्यालय बझाङले बताएको छ।
बझाङ जिल्लामा कोरोना भाइरसका संक्रमितले अक्सिजन ग्याँस नपाएर ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्य भएको दाबी गरिएको छ। जिल्ला अस्पतालमा ४७ वटा अक्सिजन ग्याँसका सिलिन्डर मौज्दाज छन्। कोरोना महामारीमा संक्रमितका लागि सिलिन्डरको अभाव रहेकाले जिल्लाको बुंगल क्षेत्रमा बिद्युत निर्माण गर्दै आएको कालङ्गा हाईड्रो प्रा.लिबाट १ सय ५४ वटा अक्सिजन सिलिन्डर ल्याइएको जिल्ला अस्पताल बझाङ्गका प्रमुख डाक्टर सन्दिप ओखेडाले बताए।
जिल्लामा अक्सिजन ग्याँसका सिलिन्डरको अभावले जटिल प्रकारका कोरोना संक्रमितहरुलाई रेफर गर्नुपर्ने बाध्यता थियो। अक्सिजन प्लान्ट जडानको काम पूरा भए अक्सिजन ग्याँसको अभाव समाधान हुने उनले बताए।