सुदूर नेपाललाई विश्वसँग जोड्दै

अक्सिजन प्लान्ट खरिद गर्न पुसमै सहमति, प्रक्रिया हालसम्म नथालेको खुलासा

महामारीमा सामाजिक विकास मन्त्रालयको अकर्मण्यता

२०७८ वैशाख २४, १२:४६ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेशका अस्पतालमा अहिले अक्सिजन ग्यासको हाहाकार छ। 

कोरोना संक्रमित र अन्य बिरामीका लागि अक्सिजन खोज्न बिरामीका आफन्त र अस्पतालहरुलाई निकै सकस भएको छ। जसको मुख्य जिम्मेमवार प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय रहेको पाइएको छ। 

गत पुसमै अक्सिजन प्लान्ट खरिद गर्न प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सहमति दिए पनि हालसम्म अक्सिजन प्लान्ट खरिद प्रक्रिया नबढाएपछि समस्या विकराल बनेको खुल्नमा आएको हो।

प्रदेशको आर्थिक मामिला मन्त्रालयबाट ९ जिल्लाका लागि अक्सिजन प्लान्ट खरिद गर्न गत पुसमा नै सहमति दिइएको भएपनि प्लान्ट खरिदमा सामाजिक विकास मन्त्रालयलले चासो नदिँदा अहिले प्रदेशभर अक्सिजनको हाहाकार भएको खुल्नमा आएको हो। 

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव झलकराम अधिकारीले भने, “आर्थिक मामिला मन्त्रालयले गत पुसमा नै अक्सिजन प्लान्ट खरिद गर्न सहमति दिएको छ। सहमति प्राप्त गरेपछि खरिद प्रक्रिया अगाडि बढाउले दायित्व सामाजिक विकास मन्त्रालयको हो। हामीले आफूले नगरेको कामको अपजस अरुलाई दिनु हुन्न।”

तर सामाजिक विकास मन्त्रालयले भने संघीय सरकारले प्रदेश सरकारलाई दिएको ४ करोड बजेट फुकुवा नगर्दा अक्सिजन प्लान्ट खरिदमा विलम्ब भएको जिकिर गरेको छ। साथै एकमुष्ट खरिद गर्ने या जिल्लामा नै बजेट पठाउने भन्न्ो कुराले खरिद प्रक्रिया अगाडि बढाउन ढिलाइ भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्की बताउँछन्।

कोरोना भाइरसको दोस्रो लहर प्रदेशभर फैलिइरहेको बेला अक्सिजनको अभावमा बिरामीले ज्यान गुमाउने अवस्था छ भने स्वास्थ्यकर्मी र अस्पतालहरु पनि बिरामीका लागि अक्सिजनको जोहो गर्न नसक्दा निकै कठिनाइ भोगिरहेका छन्। 

कोरोना संक्रमणको दोस्रो लहरको चपेटामा परेको भारतमा अहिले देखिएको अक्सिजनको हाहाकारलाई समाधान गर्न भारत सरकारले प्रत्येक जिल्ला अस्पतालमा ठूलो क्षमताको अक्सिजन उत्पादन यूनिट जडान गर्ने अभियान चलाएको छ। भारत जस्तै अहिले सुदूरपश्चि प्रदेशमा पनि अक्सिजन अभावका कारण बिरामीको उपचारमा निकै कठिनाइ भइरहेको छ। 

नेपाली काँग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले दिनेशखबरसँग भने, “अक्सिजनको चरम अभाव भएको र कोरोनाको संक्रमण कहिलेसम्म रहन्छ भन्ने अहिले नै भन्न नसकिने अवस्थाका कारण प्रदेशभरका सरकारी अस्पतालमा अक्सिजन उत्पादन यूनिट जडान गर्न प्रदेश सरकार र संघीय सरकारले तुरुन्त पहल गर्नुपर्छ। जसरी पनि प्रदेशका पहाडी ७ जिल्ला अस्पताल र सेती, महाकाली र टीकापुर अस्पतालका लागि अविलम्ब प्रदेश सरकारले काम गर्नुपर्छ भनेर प्रदेश सरकारलाई हामी पनि भनिरहेका छौँ।” 

त्यस्तै, प्रदेश सभा सदस्य तथा नेकपा (एमाले)का संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङ पनि सरकारले अक्सिजन प्लान्ट खरिद गरि हरेक जिल्ला अस्पताललगायत कैलाली र कञ्चनपुरमा रहेको सेती र महाकाली अस्पतालमा जडान गर्न प्रदेश सरकार र संघीय सरकारसँग आग्रह गरे।

“यस्तो बेलामा पनि अक्सिजनको कालोबजारी भइरहेको कुरा सुनिएको छ। त्यो रोकिनु पर्छ। कैलाली र कञ्चनपुर लगायत पहाडी क्षेत्रमा अक्सिजन प्लान्ट जडान गर्न विलम्ब गर्नु हुँदैन।” तामाङले भने।

कोरोनाको कहरमा देखिएको अक्सिजन आभावको समस्या सधैंका लागि समाधान गर्न स्थानीय सरकार समेत संघीय र प्रदेश सरकारसँग हातेमालो गर्न तयार देखिएका छन्। विकास बजेटबाट समेत खर्च कटाएर अक्सिजन प्लान्ट खरिद गर्न तयार रहेको स्थानीय तहको जनप्रतिनिधीहरुको भनाइ छ। 

“कोरोना महामारीमा मात्रै नभइ अक्सिजनको आवश्यकता सबै किसिमका बिरामीलाई पर्ने भएकाले हरेक जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान गर्न स्थानीय सरकार समेत खर्च व्यहोर्न तयार छन् तर आपूर्तिको सुनिश्चितता प्रदेश सरकार र संघीय सरकारले गर्नुपर्छ” नगरपालिका महासंघ सुदूरपश्चि प्रदेश अध्यक्ष एवं बैतडीको पाटन नगरपालिकाका नगरप्रमुख केशवबहादुर चन्दले भने।
 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस