सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकैदिन सुदूरपश्चिमका थप ७ जना कोरोना संक्रमितको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ वैशाख २१, ०६:२३ खबर संवाददाता

धनगढी: पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका थप ७ जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ। 

कैलालीका ३ जना, दार्चुलाका २ जना, यस्तै कञ्चनपुर र बझाङका १÷१ जन संक्रमितको मृत्यु भएको छ। यसैगरी बर्दियाका १ जनाको पनि मृत्यु भएको छ। 

कैलालीको धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया महिला र वडा नम्बर १३ का २२ वर्षीय पुरुषको मृत्यु भएको छ। २२ वर्षीय पुरुष कैलाली बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत थिए। 

महिलाको मंगलबार बिहान साढे २ बजे र पुरुषको सोमबार राति साढे ११ बजेको समय मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। 

महिलाको गत १२ गते पीसीआर रिर्पोट पोजेटिभ आएको थियो भने पुरुषलाई सोमबार मात्रै सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकोमा एन्टिजेन विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। उनीहरुको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। 

मंगलबार दिउँसो १२ बजेर ३० मिनेटमा टीकापुरका ३८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। उनमा सोमबार मात्रै कोरोना पुस्टि भएको थियो।

यस्तै दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का ६६ वर्षीय पुरुषको पनि एन्टिजेन विधिबाट परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएकोमा सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा सोमबार राति ९ बजेको समयमा मृत्यु भएको छ। 

यसैगरी मंगलबार दार्चुलाको व्याँस गाउँपालिका घर भएका नेपाली सेनाका ४५ वर्षीय नायकको मृत्यु भएको दार्चुलाका कोभिड सम्पर्क व्यक्ति बीरेन्द्रराज भट्टले बताए।

त्यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका १२ घर भएका ७१ वर्षीय पुरुषको पनि सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।  एन्टिजेन विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएकोमा उनको मंगलबार बिहान ३ बजेको समयमा मृत्यु भएको हो। 

यस्तै बझाङका २६ वर्षीय पुरुषको पनि बैशाख १४ गते एन्टिजेन विधिबाट परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएकोमा सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा सोमबार राति साढे १० बजेको समयमा मृत्यु भएको जनाइएको छ। 

सेती प्रदेशिक अस्पतालमै उपचाररत बर्दियाका ३० वर्षीय पुरुषको पनि कोरोना संक्रमण भएर मृत्यु भएको छ। सोमबार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। 

पीसीआर रिपोर्ट पोजेटीभ आएकोमा मंगलबार बिहान २ बजेको समयमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले बताए। 


 

कमेन्ट लोड गर्नुस