सुदूर नेपाललाई विश्वसँग जोड्दै

आजदेखि डडेल्धुरामा निषेधाज्ञा लागू

२०७८ वैशाख १९, ११:३६ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा आजदेखि एक हप्ताका लागि निषेधाज्ञा (लकडाउन) लागू भएको छ।

विश्वभर फैलिएको नयाँ भिरियन्टसहितको कोरोना भाइरसको संक्रमण दर जिल्लामा पनि उच्च रहेकाले जिल्ला प्रशासन कार्यालय डडेल्धुराले एक हप्ता निषेधाज्ञा जारी गरेको हो।

बैशाख १९ गते बिहान ६ बजेदेखि २५ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गरिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए।

शुक्रबार बसेको जिल्ला स्तरीय सर्वदलीय, सर्वपक्षीय बैठकले निर्णय लकडाउन गर्ने निर्णय गरेको हो।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सबै सवारी साधन बन्द रहने छन्। अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्जन्य पदार्थ बोकेको सवारी, बैंक तथा बित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन्।

खाद्य सामग्रीका पसलहरु बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म र दिउँसो ४ बजेदेखि बेलुका ६ बजेसम्म मात्र खोल्न पाइने छ।

सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भिडभाड हुने स्थान बन्द रहनेछन्। विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्व स्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउने छन्।

यस्तै नेपाल सरकारका कर्मचारी, बैंक बित्तीय संस्था तथा अन्य अत्यावश्यक कार्यालयका कर्मचारीले कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्।

पत्रकारको हकमा भने सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्।
 

कमेन्ट लोड गर्नुस