सुदूर नेपाललाई विश्वसँग जोड्दै

निषेधाज्ञामा यातायात व्यवसायीको लुटतन्त्र, यात्रुहरूबाट चर्को भाडा असुल्दै

२०७८ वैशाख १८, १२:४४ खबर संवाददाता

धनगढीः निषेधाज्ञामा भारतबाट फर्किएका यात्रुहरूबाट यातायात व्यवसायीहरूले चर्को भाडा असुलिरहेका छन्। 

जारी निषेधाज्ञा अवधिभरमा यात्रुहरूबाट निर्धारित भाडाभन्दा ५० प्रतिशत बढी भाडा लिन पाउने सर्त भएपनि यातायात व्यावसायीहरूले मनोमानी रूपमा भाडा असुलिरहेको पाइएको हो। यातायात व्यावसायीहरूले ढाड सेक्ने गरी भाडा असुलिरहेकोे यात्रुहरूले गुनासो गरेका छन्। 

निषेधाज्ञाभन्दा पहिला धनगढीबाट टिकापुरसम्मको भाडा २ सय ३० थियो। त्यसमा ५० प्रतिशत मुल्य थप गरिएपछि ३ सय ४५ हुन जान्छ, तर यातायात व्यवसायीहरूले १ हजारसम्म भाडा असुल्ने गरेको यात्रुहरूले गुनासो गरेका हुन्।

त्यस्तै गौरीफन्टा नाकादेखि पहाडका विभिन्न स्थानमा जानका लागि समेत यात्रुहरूको ढाडै सकिने गरी भाडा असुलिरहेका छन्। भारतका विभिन्न राज्यबाट नाकामा पुगेका नेपालीहरू निषेधाज्ञा भएपछि नाकामै अलपत्र परेका छन्। 

अलपत्र परेका उनीहरूलाई गन्तव्यमा पुऱ्याएर उनीहरूको पीडामा मलम लगाउनुको साटो यातायात व्यावयासीहरू चर्को मुल्य असुलेर उनीहरूको ढाड सेक्ने काम गरिरहेका छन्।


 

कमेन्ट लोड गर्नुस