सुदूरपश्चिममा कोभिडका बिरामीका लागि उपकरण अभाव
धनगढी: सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा कोभिड बिरामीको संख्या ह्वात्तै बढेपछि बिरामीको उपचारका लागि आवश्यक अक्सिजन र अन्य उपकरण अभाव हुने संकेत देखिएको छ।
प्रदेशमा कोभिड संक्रमित बढेसँगै अस्पतालमा शय्या र स्वास्थ्य उपचार सेवा पाउन समेत कठिन हुनसक्ने भन्दै अधिकारीहरू चिन्तित बनिरहेका छन्। कोरोनाको दोस्रो लहरले अहिले सुदूरपश्चिमका पहाडी तथा समथर जिल्लाहरूलाई छोइसकेको ठानिएको छ। समुदायमा फैलिन थालेको संक्रमण नियन्त्रणका प्रयास नभए अवस्था भयावह हुनसक्ने चेतावनी स्वास्थ्य अधिकारीहरुले दिएका छन्।
बैशाखदेखि सुदूरपश्चिम प्रदेशमा उकालो लाग्न थालेको कोरोना ग्राफ अहिले झनै माथि पुग्न थालेको छ। प्रदेशको कैलाली र कञ्चनपुर जिल्लाका शहरीसँगै ग्रामिण क्षेत्रमा कोरोना पुस्टि हुने क्रम बढेको परीक्षण आँकाडाले देखाएको छ।
प्रदेशको सबैभन्दा बढी जनघनत्व रहेको धनगढी उपमहानगरपालिकामा सोमबार दिउँसोसम्म २ सय ५ जना सक्रिय संक्रमित रहेको बताइएको छ। धनगढी उपमहानगरपालिकाका घना र भिडभाडयुक्त क्षेत्रमा अहिले संक्रमण भित्रभित्रै समुदायस्तरमै फैलिएको आशंका गर्न थालिएको छ।
धनगढी उपमहानगरपालिकाका कोभिड सम्पर्क व्यक्ति लक्ष्मीराज उपाध्यायले भने, ‘धनगढी उपमहानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ७, ८ र १२ मा कोभिड निकै फैलिइसकेको छ। अहिले एकै घरका सबै सदस्यमा कोरोना देखिएको छ। कोरोना समुदायमै फैलिइसकेको छ। नगरपालिकामा पनि स्वाब दिनेको संख्या बढेको छ।’
कैलालीको गोदावरी नगरपालिकामा बैशाख १ गते यता ३९ जनामा कोरोना पुस्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। ‘नगरपालिकामा स्वाव दिन आउनेहरुको संख्यामा वृद्धि भएकोले समुदायमा कोरोना फैलिएको अनुमान गर्न सकिन्छ’ नगरपालिकाका कोभिड सम्पर्क व्यक्ति नारायणप्रसाद बडुले दिनेशखबरलाई भने।
कैलाली र कञ्चनपुरमा कोभिडका संक्रमित बढेसँगै यहाँका अस्पतालहरुमा बिरामीले उपचार पाउन थप सास्ती भोग्नुपर्ने भएको छ। अत्यावश्यक औषधि, अक्सिजन, भेन्टिलेटर र उपचारमा प्रयोग हुने अन्य उपकरणको समेत प्रदेशमा अभाव हुने निश्चित छ।
कैयौँ उपकरण मर्मतसम्भार र जनशक्तिको अभावमा थन्किएका छन्। महाकाली र सेती अस्पतालमा भेन्टिलेटर नपाएर कोरोना संक्रमित महिलालाई डडेल्धुरा रेफर गराएको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–१० झलारीका एक स्थानीयवासीले दिनेशखबरलाई बताए।
सुदूरपश्चिम प्रदेशमा बैशाख महिनाको पहिलो १२ दिनमा थप ४ सय ६४ जनामा पीसीआर विधिबाट कोभिड पुस्टि भएको छ भने १ हजार १ सय ६९ जनामा एन्टिजेन परीक्षणमा गर्दा कोरोना पुस्टि भएको स्वास्थ्य निर्देशनालयको तथ्यांक छ।
यस्तै मंगरबारसम्म सेती प्रादेशिक अस्पतालमा ५ र महाकाली अस्पतालमा ६ सहित प्रदेशभर कोरोनाको कारण १५ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।