कोरोना महामारीको त्रासकाबीच डडेल्धुराको घटाल थानमा विषु जाँत
डडेल्धुराः नयाँ वर्ष तथा सुदूरपश्चिमेलीहरुको महान पर्व विषुको अवसरमा ब्ुधबार सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ घटाल थानमा विषु जाँत (मेला) लागेको छ।
डडेल्धुराको अमरगढी–३ डोटी खोलाको पुछारमा रहेको घटाल थानमा हरेक वर्ष नयाँ वर्षको दोस्रो दिन अर्थात् वैशाख २ गते लाग्ने विसु जाँत (मेला) वर्ष पनि सम्पन्न भएको हो।
विश्व व्यापिरूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को त्रासकाबीच पनि उक्त मेलामा भक्तजनहरुको उल्लेखनीय उपस्थिती रहेको घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णराज बोहराले बताए।
तर जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बसेको जिल्ला शुरक्षा समितिको निर्णयले घटाल थानमा नित्य पूजाआजा बाहेक मेला, जमघट, भिडभाड नगर्न/नगराउन निर्णय गरेकोले विषु जाँत (मेला) नहुने नित्यपूजामा सिमित हुन आग्रह गरिएको थियो।
नयाँ वर्षको दिन चम्सालको देउघरबाट घटाल थान नजिकैको असिग्राम मन्दिरमा लग्ने र दोस्रो दिन घटाल थानमा ल्याएपछि मात्रै जाँत सुरू हुने गर्दछ। घटालथानमा गएर आफूले चिताएको कुरा मागेमा मनोकामना पूरा गरिदिने जनविश्वास रहिआएको छ।
जबजब यस क्षेत्रमा खटेरी पर्छ तब यस क्षेत्रका स्थानीयले घटाल बाबासँग पानी माग्ने गरेका छन्। खडेरी परेमा पानी दिने, निसन्तानलाई सन्तान दिने गरेको जनविश्वास रहिआएको छ। घटाल बाबाले मनले चिताएको पूरा गरिदिएको भन्दै दैनिक सयौँको संख्यामा घटाल थानमा बलिदिनेहरूको भिड लाग्ने गर्दछ।
किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ।
पश्चिमी क्षेत्रमा आस्तिकहरू माझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहँदै आएको छ। द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव र पाण्डवबीचको धर्मयुद्धमा भीमपुत्र घटोत्कचले ठूलो पराक्रम प्रदर्शन गरेका थिए।
कौरव सेना माथी धावा बोलेर ठूलो क्षति पुर्याएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ। लडाइँ मैदान मैवीरगति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाई कलियुगमा ख्याति प्राप्त भगवानका रूपमा मान्यता पाउने वरदान दिएको परापूर्वकाल देखिको भनाई छ।