सुदूर नेपाललाई विश्वसँग जोड्दै

वन सखाप पार्दै डडेल्धुराका उपभोक्ता

२०७७ चैत्र ३१, ०२:०२ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराका सामुदायिक वनहरू डढेलो लागेको छ।

सुक्खायाम र गर्मी मौसमसँगै डडेल्धुराका करिब १ सय बढी सामुदायिक र सल्लेरी वनहरूमा डढेलो लागेको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ।

जिल्लाका ६ वटैै स्थानीय तहमा रहेको सामुदायिक र सल्लेरी वन तथा महाभारत र चुरे क्षेत्रमा समेत डढेलो लागेको वनकर्मीहरूले बताएका छन्। 

स्थानीय उपभोक्ताको लापरबाहीका कारण जंगलमा बढी आगलागी हुने गरेको डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख विष्णुप्रसाद आचार्यले बताए। अत्यधिक गर्मी बढ्नु र वनमा चोरी शिकारी गर्ने व्यक्ति तथा गोठालाको लापरबाहीका कारणले डढेलो लागेको उनले बताए। 

चुरोट, बिँडी खाएर जथाभावी फाल्ने तथा लापरबाहीपूर्ण तरिकाले आगो लगाइदिँदा वनमा डढेलो लाग्ने गरेको उनी बताउँछन्। 

‘नँया घाँस पलाउने भन्दै सामुदायिक वनका उपभोक्ताहरूले आफैं डढेलो लगाउने गर्दछन्। घाँस काट्नका लागि उपभोक्ताहरूले आगो लागाउने गर्दछन् र, त्यही आगो सुक्खा मौसमका कारण नियन्त्रमा ल्याउन नसक्दा वन विनास हुने गर्दछ,’ प्रमुख आचार्यले भने। 

गाईगोरू चराउन सजिलो हुने भन्दै सल्लेरी वनमा उपभोक्ताले नै आगो लगाउने तर अत्याधिक स्याउला र सोत्तरका कारण आगो नियन्त्रण गर्न नसकी वन विनास हुने गरेको परशुराम नगरपालिका–७ का मोहन सिंहले बताए।

डिभिजन वन कार्यालय डडेल्धुराको तथ्यांकअनुसार जिल्लाको कुल भू–भागको ७५ प्रतिशतभन्दा बढी क्षेत्रफल वनजंगल रहेको छ। एक लाख ५३ हजार ८ हेक्टरमध्ये एक लाख १५ हजार १५९ हेक्टर क्षेत्रफलमा वन जंगल रहेको छ।

वर्सेनि डडेल्धुराका ५० प्रतिशत बढी वनमा डढेलो लाग्ने गर्दछ।

कमेन्ट लोड गर्नुस