अनलाइन पढाइ कसरी सम्भव होला सुदूरपश्चिमका विद्यालयहरूमा
कोरोना भाइरस फैलिएर लकडाउन गर्नुपर्ने अवस्था आए सुदूरपश्चिम प्रदेशमा अनलाइन पढाइको तयारी शून्यप्रायः रहेको देखिएको छ।
देशभर झै सुदूरपश्चिम नेपालमा पनि स्कूले बालबालिकामा नयाँ प्रकारको कोरोना भाइरस संक्रमण तीव्र भइरहे पनि विद्यालयहरुमा स्वास्थ्य सुरक्षाका मापदण्डको समेत पालना हुन सकेको छैन। जसका कारण कोरोना भाइरस विद्यालय र कलेजबाट घर–घरमा फैलिने चिन्ता गरिएको छ।
यो वर्ष कोरोनाभाइरसको कारण विद्यालय ढिलो सञ्चालनमा आएको भएपनि पुनः दोस्रो लहरको कोरोना भाइरस फैलिने चिन्ताका बीच आजका मितिसम्म विद्यालयहरुमा पठनपाठन जारी नै छ।
तर नयाँ प्रजातिको ‘यूके भेरिएन्ट’ बालबालिकामा निकै छिटो फैलिने बताइएको बेला सुदूरपश्चिमका विद्यालयहरुमा भने मास्क लगाउने, भौतिक दूरी कायम गर्ने जस्ता मापदण्डको उल्लंघन भइरहेको पाइएको छ।
यसरी स्वास्थ्य सुरक्षाका मापदण्डको पालना बिना विद्यालय सञ्चालनमा रहिरहे कोरोना संक्रमण तीव्र भई पुनः लकडाउन गर्नुपर्ने अवस्था आउने चेतावनी अधिकारीहरूले दिइसकेका छन्। त्यस्तो बेला गरिनु पर्ने अनलाइन पढाइको तयारी प्रदेशभरीका विद्यालयमा शून्यप्रायः छ भने स्वास्थ्य सुरक्षका मापदण्डको समेत ख्याल गर्न छोडिएको छ।
कोरोनाको संक्रमणबाट बच्न र विद्यालय र सार्वजनिक स्थानमा स्वास्थ्यका मापदण्डको कडाइका साथ पालना गर्न सरकारले पटकपटक भने पनि त्यो व्यवहारमा पालना भएको देखिदैन।
कोरोनाको दोस्रो लहरको प्रभाव र फैलावट तीव्र भइरहेको बेला सुदूरपश्चिम प्रदेशका विद्यालय र कलेजहरुमा देखिएको असावधानीले बालबालिका मार्फत कोरोनाभाइरस घर–घरसम्म फैलिने र स्कूल कलेज बन्द गरेर लकडाउन गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ जनस्वास्थ्यविद्हरुले चेतावनी दिइरहेका छन्।
तर विद्यालयहरुमा भने न स्वास्थ्य मापदण्डको पालना गराउन सकिएको छ न त भोलि लकडाउन भइहाले पढाइ गर्ने वैकल्पिक व्यवस्था बारे नै योजना बनाइएको छ।
धनगढीको त्रिनगर माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक हेमराज जोशीले भने, “विद्यालयमा धेरैले त मास्क लगाएर आउँछन् तर केहि भने मास्क प्रयोग नगरेरै आउँछन्। गेटबाट घर फर्काउन जस्तो पनि नहुने। घरमा पनि आमाबाले भन्दैनन् क्या हो। हामी त भनेका भनेइ हुन्छौँ।”
सहायक प्रधानाध्यापक जोशीले कोरोनाको कारण विद्यालय बन्द गर्नुपर्ने अवस्था आएमा भने अनलाइन पढाउन समेत मुस्किल हुने बझाइ छ।
“सबै विद्यार्थीको घरमा नेट पनि हुँदैन। यस्तोमा त अनलाइन पढाइ पनि प्रभावकारी हुँदैन। यो वर्ष त अब थोरै मात्रै बाँकी छ। तर कोरोना बढेमा भने आउने शैक्षिक सत्रमा पनि सामुदायिक विद्यालयहरुलाई वैकल्पिक माध्यमबाट पढाउन कठिन नै हुनेछ।” सहायक प्रधानाध्यापक जोशीले भने।
सुदूरपश्चिम प्रदेशमा सोमबारसम्म ७ जना बालबालिकामा कोरोना पुस्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। तर दोस्रो लहरमा बालबालिकामा कोरोनाको नयाँ प्रकार पहिलेको भाइरसभन्दा धेरै गुणा चाँडो दरमा सर्ने भएकोले स्वास्थ्य सुरक्षाको मापदण्डमा थप कडाइ गर्न सुझाव दिन्छन् जनस्वास्थ्यविद् डक्टर लक्ष्मीराज पाठक।
“नयाँ प्रकारको कोरोना भाइरस तीव्र गतिमा सर्ने खालको छ। यसको लक्षण भने पहिलाको जस्तै छन्। तर विद्यालय लगायतका क्षेत्रमा स्वास्थ्य मापदण्डको पालना नगरेमा भने यसले महामारीको रुप ग्रहण गर्ने संभावना छ। भारतमा कोरोनाको कारण विद्यालय बन्द छन्। राम्रा विद्यालयमा विद्यार्थी संख्यामा कटौती गरेर सिफ्ट अनुसार पढाइ भइरहेको छ। तर हाम्रोमा त्यसो हुन सकिरहेको छैन। कोरोनाबाट बच्न विद्यालय कलेज केहि दिन बन्द गर्नु ठीक हुन्छ भन्छु म त।” जनस्वास्थ्यविद् डक्टर पाठकले भने।
कोरोनाको संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गर्न सरकार र स्वास्थ्य अधिकारीले भनेपनि सुदूरपश्चिमका सरकारी तथा नीजि विद्यालयहरूमा त्यसको उल्लंघन भइरहेको देख्न सकिन्छ। विद्यालय र विद्यार्थीका कारण भोलि संक्रमण फैलिएर विद्यालय बन्द भए पठनपाठन कसरी गर्ने भन्ने योजना समेत विद्यालयहरुसँग नहुँदा बालबालिकाको सिकाइमा धक्का लाग्ने निश्चित छ।
सरकारले स्थानीय प्रशासनलाई कोरोना नियन्त्रणका लागि आवश्यक कदम चाल्न सक्ने अधिकार दिएको भएपनि मास्क लगाउने, भिडभाड र जमघट नियन्त्रण गर्ने, भौतिक दूरी कायम गराउने जस्ता आधारभूत मापदण्डको पालना नहुँदा सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या उकालो लाग्ने क्रममा छ।
सोमबारमात्रै कैलाली र कञ्चनपुरमा १५ जनामा कोरोना देखिएको छ भने थप एक जनाको मृत्यु भएको छ। अहिले प्रदेशभर ७ जना स्कूले बालबालिकासहित ८९ जना सक्रिय संक्रमित रहेका छन् भने ५८ जनाको कोरोनाको कारण मृत्यु भएको तथ्यांक छ।
कोरोना फैलिइरहेको अवस्थामा समेत स्वास्थ्य मापदण्डकको पालना नहुँदा प्रदेशभर कोरोना डढेलो झै फैलिने चिन्ता गरिएको छ भने लकडाउन गर्नु परे नियमित पढाइ कसरी गर्ने भन्ने योजना संघ। प्रदेश र स्थानीय तहसँगै विद्यालयहरुसँग समेत छैन।