सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ प्रकारको कोरोना संक्रमण रोक्न स्कूल बन्द गर्ने सुझाव कार्यान्वयन होला कि नहोला

। फोटो स्रोत ।
२०७७ चैत्र ३०, ११:०७ नारायण अवस्थी

धनगढी: नयाँ प्रकारको कोरोना संक्रमण रोक्न सरकारले सिफारिस गरे अनुसार स्कूल बन्द गर्न र पच्चिस जनाभन्दा बढीको भिड रोक्न सुदूरपश्चिम प्रदेशका अधिकारी पूरै विफल भएको देखिएको छ।

कोरोनाको दोस्रो लहरसँगै नयाँ प्रकार बालबालिकामा समेत देखिन थालेपनि सुदूरपश्चिममा तत्काल स्कूल बन्द गर्ने बारे ठोस निर्णय लिन अधिकारीले सकेका छैनन्। नयाँ प्रकारको कोरोना पहिलेको भन्दा ७० प्रतिशत तीव्र गतिमा फैलने विज्ञको भनाइ छ। तर नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण देशभर तीव्र भइरहेको बेला भिडभाड रोक्न नसके स्थिती भयावह हुन स्वास्थ्यविद्ले चेतावनी दिएका छन्।

सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका ७२ व्यक्तिमा कोरोना पुस्टि भएर आइसोलेशनमा छन्। पोहोर देखि अहिलेसम्म कोभिडका कारण ५७ जनाको मृत्यु भएको प्रदेश सरकारको तथ्यांकले देखाएको छ।

विद्यालय बन्द होला कि नहोला?

स्वास्थयविद्ले नेपालमा समेत दोस्रो लहरको कोरोना संक्रमण सुरु भएको बताएको बेला सरकारी पक्षबाट भने नियन्त्रण गर्न कुनै प्रयास नगरेको भनेर चिन्ता व्यक्त गर्न थालिएको छ। दोस्रो चरणको कोभिड संक्रमण निकै तीव्र फैलिने र संक्रकण बालबालिकामा समेत फैलिइ रहेको भएपनि सरकारी अधिकारीहरुले स्कूल कलेज बन्द गर्ने बारे कुनै निर्णय गर्न सकेका छैनन्।

सुदूरपश्चिम प्रदेशका शिक्षा विकास निर्देशक गणेशबहादुर सिंहले भन,“अहिले विद्यालय बन्द गर्ने कुनै निर्णय भएको छैन। स्थानीय तहहरुले जोखिम र आवश्यकता हेरेर निर्णय गर्न सक्छन्।

संघीय सरकारले स्थानीय प्रशासनले कोभिड संक्रमण नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड पालना गराउन नियम बनाएर कार्यान्वयन गर्न सक्ने भएपनि भौतिक दूरी कायम गर्दै मास्क लगाउनु पर्ने, सभा सम्मेलन गर्न नपाउने नियमको समेत प्रदेशका स्थानीय प्रशासनले कार्यान्वन गर्न सकेका छैनन्। कोभिड नियन्त्रणका लागि लकडाउनसम्म गर्न सक्ने अधिकार पाएको स्थानीय प्रशासनले न त स्वास्थ्य मापदण्ड पालन गराउन सकेको छ न स्कूल कलेज नै बन्द गर्न सकेका छन्।

कैलाली जिल्लाका प्रशासकिय अधिकृत एवं सूचना अधिकारी शिवराज जोशीले भने, “एक पटक सबै पक्षसँग बसेर मात्रै उचित निर्णय लिने विचारमा छौँ। प्याब्सन, एनप्याब्सन र सरोकारवालासँग बसेर छलफल गर्छौँ अनि उचित निर्णयमा पुग्ने छौँ।

उपमहानगरको योजना

विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय तहमा दिइएको छ तर कोरोनाको संक्रमण रोक्न भने अहिले नै विद्यालय कलेज बन्द गर्ने या अन्य विकल्पमा जाने भनेर ठोस निर्णमा धनगढी उपमहानगरपालिका समेत पुग्न नसकेको पाइएको छ।

स्वास्थ्य मापदण्डको पालना गराउन पनि नसक्ने, विद्यालय सञ्चालनबारे समेत ठोस निर्णय गर्न नसक्दा र स्वास्थ्य सुरक्षा मापदण्डको समेत ख्याल गर्न नसक्दा जोखिम झन बढ्ने भएपनि विद्यालयबारे नयाँ निर्णय गर्न उपमहानगरपालिकाले पनि सकेको छैन। तर उपमहानगरपालिकाका शिक्षा अधिकृत महादेव जोशीले जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार विद्यालयमा पठनपाठन हुने बताए।

जिल्ला प्रशासन कार्यालयबाट निर्देशन आए बमोजिम कार्यालयहरु सञ्चालनमा रहनेछन्। कार्यालय सञ्चालन हुने भनेपछि विद्यालय पनि सञ्चालन नै हुन्छन्। स्वास्थ्य मापदण्डको  पालना गर्दै विद्यालय सुचारु नै हुनेछन्।

कोभिड १९ महामारीका कारण विद्यालयको पठनपाठन नराम्ररी प्रभावित भएकोले पढाइ सिध्याउनु पर्ने दबाब एकातिर छ। अर्कोतिर यहिबेला कोरोनाको नयाँ प्रकार फैलिन थालेको छ।

सुदूरपश्चिम प्रदेशमा हाल ७२ जना कोरोना संक्रमित रहेका छन् भने कोरोनाको कारण मृत्यु हुनेको संख्या ५७ पुगेको छ। प्रदेशमा हरेक दिन भारतबाट फर्किनेको संख्या करिब दुई हजार हाराहारीमा रहेको छ। सीमानाकामा उनीहरूको परीक्षण र निगरानी प्रभावकारी हुन सकेको छैन। भारतमा दैनिक एक लाखभन्दा धेरै व्यक्तिमा कोभिड संक्रण भइरहँदा त्यसको असर सुदूरपश्चिम र पूरै नेपालमा पर्ने चिन्ता गरिएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस