बाजुराका सामुदायिक वनमा डढेलो
बाजुरा: बाजुराका ४ वटा सामुदायिक वनमा डढेलो लागेको छ।
शुक्रबार राति जिल्लाको बडीमालिका नगरपालिका–२ घागरमा रहेको भेरालमाण्डौं सामुदायिक वन, २ कै धलपुरीमाण्डौ सामुदायिक वन, वडा नम्बर १ मा रहेको सल्लेना सामुदायिक वन र बडीमालिका–९ को जननौटी सामुदायिक वनमा भिषण डढेलो लागेको थियो।
उक्त डढेलो अहिले पूर्णरुपमा नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकृत कृष्ण गैरेले बताए। स्थानीय र सुरक्षाकर्मीको लामो मिहेनतपछि डढेलो नियन्त्रणमा आएको उनले बताए।
जनावर मार्न स्थानीयले नै आगो लगाएकोे बताइएको छ। प्रमुख जिल्ला अधिकृत गैरेले आगो लगाउनेहरुको खोजी भइरहेको बताएका छन्।