डडेल्धुराको साहुखर्कमा भैँसी फर्म खोलेर वार्षिक ८ लाख कमाउँदैछन् देउवा
हरिश चन्द, डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा भैँसी फर्म खोलेर व्यवसायिक भैँसी पालनमा लागेका एक युवा राम्रो आम्दानी गर्दै आएका छन्। भैँसी फर्म सञ्चालन गरेका स्थानीय कर्णबहादुर देउवाले वार्षिक ८ लाख आम्दानी गर्दै आएका हुन।
उनले २०७० सालमा दुई माउ भैँसीबाट भैँसीपालन सुुरु गरेका थिए। अहिले देउवाले ‘कृषि फर्म’ दर्ता गरेर भैँसी पाल्दै आएका छन्। फर्ममा लाग्ने खर्च कटाएर उनले वार्षिक ७ देखि ८ लाखसम्म आम्दानी गरिरहेको बताए।
२०७६ असोजबाट सुरुवात गरिएको फर्ममा परिवारका ३ जना सदस्यहरु र ६ जनालाई रोजगारी समेत दिइएको छ। अहिले उक्त फर्ममा १५ वटा भैँसी पालिएका छन्, तर अब २० वटा भैँसी अटाउने गोठलाई बढाएर ३० वटासम्म भैँसी पालन गर्ने योजना रहेको कर्णबहादुर देउवाले बताए।
बाजेको खिर पसल भनेर चिनिने साहुखर्कमा अहिले करिब दैनिक २५ देखि ३० लिटर दुध उत्पादन खपत हुने उनी बताउँछन्।
उक्त व्यवसायको उन्नतीका लागि वडा कार्यालय तथा गाउँपालिकाबाट सहयोग अपेक्षा राखेको देउवाले बताए।