सुदूपश्चिमका आइसोलेशन केन्द्र भारतबाट फर्किएका कोरोना संक्रमितले भरिँदै
परीक्षण किटको अभाव सुरु।
भारतबाट घर फर्किने कोरोना संक्रमितले धनगढी र महेन्द्रनगरका अइसोलेशन केन्द्र भरिन थालेपछि प्रदेश सरकार होटलहरूलाई आइसोलेशन केन्द्र बनाउने तयारीमा जुटेको छ।
भारतबाट घर फर्किनेको संख्या अझै बढ्ने र सोसँगै संक्रमितको समेत संख्यामा वृद्धि हुने अनुमान गरिएको छ। तर आसोलेशन केन्द्रहरुमा कोभिड संक्रमित राख्न स्थान अभाव भए सहरका होटेलहरुमा कोभिड संक्रमितको व्यस्थापन गर्न प्रदेश सरकार अघि सरेको छ।
सुदूरपश्चिम प्रदेशको मुख्य पर्व बिसुको लागि भारतबाट घर फर्किनेको संख्या अझै बढ्ने र संक्रमणको जोखिम समेत उकालो लाग्ने आशंकाबीच नाकामा परीक्षणको दायरा बढाइएको सरकारी दाबी छ।
तर सीमा नाकामा आइपुग्ने भिडको कोरोना जाँच गर्न परीक्षण किटको अभाव हुन थालेको छ।
सुदूरपश्चिम प्रदेशमा कैलाली कञ्चनपुर बैतडी र दार्चुला जिल्लाका सीमा नाकाबाट दिनहुँ २ हजारको संख्यामा नेपालीहरु स्वदेश फर्किरहेको बताइएको छ।
सुदूरपश्चिम प्रदेशको प्रमुख चाड बिसु नजिकिदै गर्दा सीमाबाट स्वदेश फर्किनेको संख्या ह्वात्तै बढ्ने अनुमान गरिएको छ।
प्रदेशका अन्य नाका भन्दा धनगढीको त्रिनगर र महेन्द्रनगरको गड्डाचौकी नाकाबाट सबैभन्दा बढी मानिस घर फर्किने हुँदा संक्रमित समेत धेरै आउने चिन्ता गरिएको छ। तर संक्रमितको संख्या बढेमा भने धनगढी १५ कनरीमा बनाइएको आइसोलेशन सेन्टरले धान्न मुस्किल हुने भन्न थालिइसकेको छ।
स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले अहिले नै आइसोलेशनमा बस्न समस्या नभएको बताएका छन्।
“यदि भोलिका दिनमा आइसोलेशनमा ठाउँ अभाव भए वैकल्पिक स्थानको समेत पहिचान गरिसकिएको छ। धागढीको कभर्ड हल र होटेलहरुमा समेत संक्रमितहरुलाई राख्ने किसिमले तयारी गरिएको छ।” धामीले भने।
प्रदेशका सबै स्थानीय तहहरुलाई संघीय र प्रदेश सरकारले आइसोलेशन केन्द्र सञ्चालनमा ल्याउन निर्देशन दिइएको भएपनि अहिलेसम्म धनगढीको कनरीमा १ सय ५० र महेन्द्रनगरको महाकाली अस्पतालको आइसोलेशन केन्द्रमा ५० जना मात्रै राख्ने गरी व्यवस्था गरिएको प्रदेश सरकारले जनाएको छ।
तर भारतबाट आउने सबैको भने एन्टिजेन परीक्षण गर्नु आवश्य नरहेको सरकारी अधिकारीले बताएका छन्।
“परीक्षण किटको पनि अभाव छ भन्न सकिन्छ र सरकारको मापदण्ड अनुसार भारतको अत्यधिक संक्रमण फैलिएको ठाउँबाट आउनेहरुको मात्रै सीमा नाकामा एन्टिजेन परीक्षण भइरहेको छ। लक्षण भएका र तिनका साथमा आएकाहरुको परीक्षण गरिदै छ। सबैको गर्न आवश्यक नभएकोले मापदण्ड अनुसार नै सीमा नाकामा स्वास्थ्य जाँच भइरहेको छ।” कञ्चनपुर स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भने।
सुदूरपश्चिम स्वास्थ्य आपूर्ति केन्द्र धनगढीले भने प्रदेशका सबै सीमा नाकाबाट स्वास्थ्य परीक्षण गरेर मात्रै आउने व्यवस्था गरिएको जनाएको छ। तर परीक्षण किटको मौज्दात भने निकै कम रहेको बताएको छ।
“हामीसँग अहिले ५ सय किट मात्रै मौज्दात रहेको छ। तर केन्द्र सरकारले सुदूरपश्चिम प्रदेशका लागि ४ हजार किट आजै हवाइ मार्गबाट पठाउन लागेको छ। सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशको तुलनामा बढी परीक्षण भइरहेको छ। ४ हजार किट आएपछि परीक्षण गर्न सहज हुनेछ।” स्वास्थ्य आपूर्ति केन्द्रका निमित्त प्रमुख पदम बिष्टले बताए।
संघीय सरकारले ४ हजार परीक्षण किट पठाएपनि त्यो सुदूरपश्चिमका लागि केहि दिनका लागि मात्रै हुने निश्चित छ। किनभने हरेक दिन सुदूरपश्चिममा दुई हजारबढी भारतबाट फर्कि रहेको तथ्यांकले देखाएको छ। परीक्षण किटको अभावमा भारतबाट आउनेहरुलाई सिधै घर पठाइए संक्रमण घरघरमा फैलिने खतरा तर्फ भने सरकारी पक्षले सजग हुनुपर्ने देखिन्छ।